पेट्रोलियम पदार्थको मूल्यवृद्धि: नेपाल आयल निगमले ८४ रुपैयाँमा किन्ने पेट्रोललाई किन उपभोक्ताले १४२ रुपैयाँ तिर्नुपरेको छ?
उज्यालो पोस्ट
प्रकाशित मिति : बुधबार, माघ १९, २०७८
नेपालमा पेट्रोलियम पदार्थको मूल्य दुई साताभन्दा कम समयमा दोस्रो पटक बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।
तर नेपाल आयल निगम अझै १५ दिनमा दुई अर्ब २३ करोड रुपैयाँ घाटामा रहने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन्।
“मङ्गलवार रातिको मूल्य समायोजनपछि पनि हामीलाई पेट्रोलमा १३.२३ रुपैयाँ र डिजेलमा ११.१३ रुपैयाँ घाटा छ,” प्रवक्ता उपाध्याय भन्छन्।
“देश बाहिरबाट किनेर ल्याउने यस्तो पदार्थको मूल्यलाई हामीले कहिलेसम्म रोकेर राख्ने भन्ने प्रश्न उठ्न थालेको छ।”
निगमका अधिकारीहरूले भविष्यमा आपूर्ति व्यवस्था सहज बनाउन नै कठिन हुने गरी आफूहरू ऋणमा रहेको बताउने गरेका छन्।
तर उपभोक्ता अधिकारकर्मीहरूले व्यवस्थापकीय पाटोतर्फ नहेरीकन हरेक पटक अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा जनतालाई भार थप्ने गरेको बताउँछन्।
कारण
निगमले डिजेल, पेट्रोल र मट्टितेलमा पछिल्ला मूल्यवृद्धि स्वचालित मूल्य प्रणाली अन्तर्गत गरिरहेको छ।
तर निगमले पहिलेदेखि नै लागतभन्दा कम मूल्यमा तेल बेचिरहेकाले उक्त प्रणाली लागु गर्दा समेत ‘सानो अंश मात्र समायोजन गर्ने गरेको’ले समस्या कायम रहेको बताउँदै आएको छ।
त्यसमाथि खाना पकाउने ग्यासमा त्यस्तो प्रणाली लागु छैन र त्यसमै उसको घाटा सबैभन्दा उच्च छ।
निगमलाई प्रतिसिलिन्डर झन्डै ५६० रुपैयाँ घाटा हुँदा त्यसको मात्र कुल घाटा १५ दिनमा करिब एक अर्ब रुपैयाँ पुग्ने गरेको प्रवक्ता उपाध्यायको भनाइ छ।