![](https://ujyaalopost.com/wp-content/uploads/2022/03/IMG_20220321_060526.jpg)
विराटनगर । मोरङको लेटाङ नगरपालिका- ५ स्थित शिक्षा विकास माविमा पढ्ने १२ वर्षीया बालिकालाई सोही विद्यालयका शिक्षकले जबर्जस्ती प्रयास गरेको भन्ने आरोपपछि झडप भएको छ । दिउँसोबाट नै स्थानीय र विधार्थी विरोधमा उत्रिएका हुन् ।
शिक्षक मनोज पौडेलले विधार्थीलाई जबर्जस्ती प्रयास गरेको आरोप लगाइएको छ । कार्वाहीको माग गर्दै विद्यार्थी र स्थानीय विरोधमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो ।
स्थानीयका अनुसार गत शुक्रबार होलीको दिन ५६ वर्षीय शिक्षक पौडेलले बालिकाको घरमै गएर जबर्जस्ती प्रयास गरेका थिए । लेटाङ -३ घर भएका पौडेल सोही विद्यालयका निमावि तहका सामाजिक शिक्षक हुन् ।
उत्तेजित विद्यार्थीले शिक्षक पौडेलको को२७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् । प्रहरीले मे १ च ६६२ नम्बरको एम्बुलेन्समा राखेर घाइते विद्यार्थी, प्रहरी र शिक्षकलाई उद्दारको प्रयास गरे पनि विधार्थी र अभिभावकले ढुंगामुढा गरेपछि केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । प्रहरी र विद्यार्थीबीच झडप हुँदा एक महिला प्रहरी जवानसमेत घाइते भएकी छन् ।
नाराबाजीमा उत्रिएका ४ जना विद्यार्थीसमेत बेहोस भएको बताइएको छ ।
लेटाङ नगरपालिका प्रमुख शङ्कर राईले बालिकामाथि ज्यादती गर्न खोज्नु अपराध भएकोले दोषीलाई कारबाही हुनुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा प्रहरीतर्फ भएको हताहतीबारे थप पुस्टि गरेको छैन ।