सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेस नेत्री पुष्पा भुसाल उपसभामुख निर्वाचित

संसद्को तल्लो सदन प्रतिनिधिसभाको उपसभामुखमा सत्ता गठबन्धनतर्फकी उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएकी छन्।

शुक्रवार संसद्‌मा भएको मतदानमा उनी विजयी भएकी हुन्।

प्रतिनिधिसभामा साढे दुई वर्षदेखि उपसभामुखको पद रिक्त रहेको थियो। शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि नयाँ उपसभामुख छानिएको थिएन।

त्यस बेला नेकपा एमाले र माओवादी केन्द्र एक भएर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपा सत्तामा थियो।

भुसालको प्रस्तावकमा माओवादीका प्रमुख सचेतक देव गुरुङ थिए भने भट्टराईको प्रस्तावकमा एमाले सचेतक शान्ता चौधरी बसेकी थिइन्।

यसअघि भुसाल प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सचेतक थिइन्। उनी समानुपातिक निर्वाचनबाट सांसद बनेकी हुन्।

कसले पाए कति मत?

भुसालले १४८ र उनकी प्रतिद्वन्द्वी प्रतिपक्षी नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले ९३ मत प्राप्त गरेको सभामुखले बताए। सभामुखका अनुसार २४२ सांसद उपस्थित थिए।

उपस्थितमध्ये एक सांसद मत दिन्नँ भन्ने पक्षमा देखिए।

भट्टराई एमालेका हेलिकप्टर दुर्घटनामा परी निधन भएका नेता रवीन्द्र अधिकारीकी पत्नी हुन्। अधिकारीको मृत्यु भएपछि रिक्त रहेको कास्कीको निर्वाचन क्षेत्रबाट उनी सांसद चुनिएकी हुन्।

विद्या भट्टराई

कांग्रेस नेत्री भुसाललाई माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जसपा र लोसपालगायतले समर्थन गरेका थिए।

एमालेकी उम्मेदवार भट्टराईलाई राप्रपाले समर्थन गरेको थियो।

मजदुर किसान पार्टीले भने उपसभामुखको निर्वाचनमा सहभागी भएन।

सभामुख र उपसभामुख दुवै सत्ता गठबन्धनबाट

कृष्णबहादुर महराले राजीनामा दिएको बेला प्रतिनिधिसभामा तात्कालिक नेकपाको बहुमत थियो।

तर संवैधानिक व्यवस्थाअनुसार एकै दलका सभामुख र उपसभामुख बन्न नपाउने भएकाले तुम्बाहाङ्फेलाई उक्त दलले राजीनामा गर्न लगाएर सभामुखमा माओवादी पक्षका अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाएको थियो।

सापकोटा सभामुख निर्वाचित भए पनि उपसभामुख पद लामो समय रिक्त रह्यो। तर फरक दल भए पनि सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसकी सांसद उपसभामुख बनेकी छन्।

महराले अदालतबाट उक्त मामिलामा सफाइ पाइसकेका छन्।

गत संसदीय निर्वाचनका बेला एमाले र माओवादीले गठबन्धन गरेर चुनाव लडेका थिए।

फरकफरक दलका रूपमा चुनिएर आएको तर्क गर्दै उनीहरूले सभामुख र उपसभामुखमा उम्मेदवार उठाएका थिए।

माओवादीका महरा सभामुख तथा एमालेकी तुम्बाहाङ्फे उपसभामुख बनेका थिए।

पछि पार्टी एकीकरण गरेर नेकपा गठन भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation