भिजिट भिसाबाट विदेशिए २ वर्षमा २ लाख नेपाली, लुक्ने क्रम जारी दुबईमा मात्र १ लाख १९ हजार भन्दा बढी नेपाली

पछिल्लो २ वर्षमा मात्र भिजिट भिसामार्फत् झण्डै २ लाख नेपाली विदेशिएका छन् । सन् २०२० देखि हालसम्म १ लाख ९७ हजार ३१७ जना भिजिट भिसामार्फत् विदेशिएको अध्यागमन विभागअन्तर्गत अध्यागमन कार्यालयले जनाएको छ । यसरी विदेशिनेमा सबैभन्दा बढी दुबई पुगेका छन् । त्यहाँ दुई वर्षको अवधिमा १ लाख १९ हजार ११ जना पुगेको अध्यागमन कार्यालयले जनाएको छ ।
त्यस्तै भिजिट भिसामार्फत् मलेसिया, साउदी, कतार लगायतका देशमा जाने क्रम पनि बढी देखिएको कार्यालयका सूचना अधिकारी राजकुमार राईले बताए । गत साउनमा मात्रै २७ हजार ६२५ जना भिजिट भिसामार्फत् विदेशिएका छन् । जबकि २०७७ को फागुनमा ६ हजार ४२२ जना मात्र भिजिट भिसामार्फत् विदेशिएका थिए । कोरोना महामारी सहज भएसँगै भिजिट भिसामार्फत् विदेशिने क्रम बढेको देखिएको छ ।
गत आर्थिक वर्ष २०७८÷०७९ को असार मसान्तसम्म १ लाख १३ हजार ६२७ जना भिजिट भिसामार्फत् विदेशिए । दुबईमा सन् २०२० देखि हालसम्म १ लाख भन्दा बढी नेपाली भिजिट भिसामार्फत् गएको देखिन्छ । पछिल्लो तीन महिनामा मात्रै २० हजार भन्दा बढी भिजिट भिसामार्फत् दुबई पुगेका छन् ।
भिजिट भिसामार्फत् जाने क्रम बढेसँगै समस्या पर्ने क्रम पनि बढ्दो छ । वैदेशिक रोजगार उद्दार नेपाल ९रेस्क्यू नेपाल० का अध्यक्ष इन्द्रलाल गोलेले दुबईमा ५ हजार भन्दा बढी नेपाली उद्दारको पखाईमा रहेको बताए ।
कोरोना महामारीपछि यो क्रम निकै बढेको उनको भनाई छ । ‘अहिले देशमा रोजगारीको अवसर कम छ । विदेशमा रहेका दलालहरू पनि सक्रिय देखिएका छन् । उताबाट भिजिट भिसामा बोलाउने र अलपत्र पार्ने क्रम निकै बढी देखियो,’ अध्यक्ष गोलेले भने । भिजिट भिसामार्फत विदेशिए पनि कति जना नेपाल फर्किए भन्ने विवरण सरकारसँग छैन ।
विमानस्थलमा कडाइ
विदेशमा गएर समस्यामा परेपछि सरकारले गत माघमा भिजिट भिसामार्फत् विदेश जान रोक लगाएको थियो । निर्णय अव्यवहारिक भएको भन्दै चर्को आलोचना भएपछि सरकारले तीन दिनमै निर्णय फिर्ता लिएको थियो ।
नक्कली कागजातका आधारमा भिजिट भिसाका लागि खाडी मुलुक जाने प्रयास गरेको आशंकामा केही दिन अघि १९७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको थियो ।
विभिन्न एयरलाइन्समार्फत् भिजिट भिसामा जान लागेका व्यक्तिहरु शंकास्पद लागेपछि सोधपुछ गरिएकोे थियो । त्यस क्रममा विस्तृत अनुसन्धान आवश्यक देखिएपछि विमानस्थल प्रहरीले नियन्त्रणमा लिई मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई बुझाएको थियो ।
उनीहरुलाई विमानस्थलको प्रस्थान क्षेत्रमा चेकजाँच गर्दा हवाई अनुमतिका लागि आवश्यक कागजात शंकास्पद देखिएको थियो । यसरी विमानस्थलबाट फर्काइएका मध्ये १०३ जना महिला र ९४ जना पुरुष थिए ।
भिजिट भिसामा खाडी मुलुक गएका नागरिकहरु अलपत्र पर्न थालेपछि गृह मन्त्रालयका सह–सचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा कार्यदल बनाएर जाँचबुझ गरिएको थियो । सोको सिफारिसअनुसार मापदण्ड कडाइ गर्दै भिजिट भिसामा पठाउन सक्रिय व्यक्ति तथा संस्थाको गतिविधि निगरानीमा राख्नुपर्ने निष्कर्ष निकालेको थियो ।
पछिल्लो २ वर्षको अवधिमा भिजिट भिसामार्फत विदेश जान लागेका ७ हजार ९५५ जनालाई विमानस्थलबाटै फर्काइएको छ । विमानस्थलमै कडाई गरेर शंकास्पद व्यक्तिलाई फर्काउने गरेको अध्यागमन कार्यालयका सूचना अधिकारी राजकुमार राईले बताए ।
प्रायः भिजिट भिसामार्फत् विदेश जाने र उतै लुक्ने गरेका छन् । दुबईमा रहेका दलालहरूले यूरोप पठाईदिने, राम्रो कम्पनीमा काम लगाइदिने भन्दै नेपालबाट भिजिट भिसामा बोलाउने गरेका छन् ।
रातोपाटीको सम्पर्कमा आएका केही पीडितहरूले ५ देखि १० लाख रूपैयाँसम्म लिएर दलालहरूले भिजिट भिसामार्फत् बोलाउन गरेका छन् । दुबई पुगेपछि लामो समयम्म आफूहरूलाई अलपत्र पारेको र पैसा समेत नदिएको उनीहरूको गुनासो थियो ।
भिजिट भिसामार्फत विदेश जाने र त्यसले विभिन्न खालका समस्या निम्त्याउन थालेपछि सरकारले कार्यविधि ल्याएको छ । गृह मन्त्रालयले बनाएको कार्यविधि अनुसार भिजिट भिसामार्फत् विदेश जान सामान्य नागरिकको हकमा निकै कडाई गरिएको छ ।
सरकारले भिजिट भिसालाई व्यवस्थित गर्न कडाई गरिएको जनाएको छ । ‘जुन प्रयोजनको लागि भिसा जारी गरिएको हो । त्यही प्रयोजनको लागि जानुपर्छ । तर, यहाँ भिजिट भिसामार्फत् जाने र उतै लुकेर बस्ने क्रम देखियो,’ वैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवारले भने ।
यो विकृति रोक्न सरकारले कार्यविधि जारी गरेको उनको भनाई छ । ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धि, कार्यविधि २०७९’ असोज ३० गतेबाट कार्यान्वयनमा आउनेछ । यो कार्यविधि कार्यान्वयनमा आएपछि पर्यटकको रूपमा विदेश घुम्न जाने व्यक्तिका लागि निकै कडाई हुनेछ ।
के छ मापदण्डमा रु
१।परिवारका सदस्यहरूबीच नाता सम्बन्ध खुल्ने सरकारी कागजात ।
२। कम्तीमा चार लाख रुपैयाँ वार्षिक आम्दानी र कर प्रणालीमा आबद्धता खुल्ने कागजात र प्रणालीमा निवेदन पेस गर्ने दिनमा कम्तीमा दुई लाख रुपैयाँ बैंक मौज्दात रहेको स्टेटमेन्ट ।
३। आम्दानीका आधारमा सरकार ९संघ, प्रदेश र स्थानीय० लाई कर तिरेको प्रमाण । ४। दुईतर्फी हवाई टिकट र गन्तव्य मुलुकको होटलको वेबसाइट खुल्ने गरी होटल बुकिङको प्रमाण ।
वार्षिक आम्दानी, कर तिरेको प्रमाण र बैंक मौज्दात परिवारका सदस्यमध्ये कुनै एक वा एकभन्दा बढीको भए पनि हुनेछ । साथै परिवारका सदस्य सञ्चालक रहेको संस्था÷कम्पनीको आम्दानी, कर प्रणालीमा आबद्धता र बैंक मौज्दातलाई समेत लिन सकिनेछ ।
त्यस्तै, विदेशमा रहेका आफन्त भेट्न जाने परिवारका सदस्यले समेत विभिन्न कागजात पेश गर्नुपर्ने हुन्छ । उनीहरूले परिवारका सदस्यबीच नाता सम्बन्ध खुल्ने सरकारी कागजात, गन्तव्य मुलुकमा रहेको आफन्तको राहदानी र भिसा÷आवास अनुमति पत्रको छायाँप्रति पेश गर्नुपर्ने हुन्छ ।

त्यस्तै विदेशमा रहेको आफन्तले गरेको प्रायोजन पत्र, आफन्त कार्यरत रहेको कम्पनी वा निकायले निज कार्यरत रहिरहेको व्यहोराको कम्तीमा १५ दिन अवधिको पत्र हुनुपर्छ । साथै, दुईतर्फी हवाई टिकट र गन्तव्य मुलुकको होटलको वेबसाइट खुल्ने गरी होटल बुकिङको प्रमाणपत्र वा गन्तव्य मुलुकमा भएको आफन्तको सम्पर्क नम्बर सहितको विवरण पेश गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation