राष्ट्रपतिकोमा बिहीबार गएर क-कसले के के भने ?

शीतल निवासमा अस्ति बिहिवार नेपाली सेनाकाबाहेक तीन थरी सुरक्षा निकायका भूतपूर्व उच्च अधिकृतहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँगको अन्तरक्रियामा सहभागी भए । दिउँसो ३ बजे शीतल निवासमा नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका भूपू उच्च अधिकृतहरुलाई बोलाइएको थियो ।
शीतल निवासका अनुसार तीन वटै सुरक्षा निकायका भूपू आइजीपी, एआइजीहरुलाई बोलाइएको थियो । शीतल निवासमा तीन हप्ताअगाडि प्रधानसेनापतिलगायत सेनाका उच्च अधिकृतहरुलाई बोलाएर नागरिकता बिधेयकवारे सल्लाह गरिएको थियो । नागरिकता विधेयक प्रमाणीकरण नगरी शीतल निवासबाट फिर्ता भएको र संसदको दुवै सदनले उक्त विधेयकलाई जस्ताको त्यस्तै पारित गरेर पुनः गत सोमबार शीतल निवासमा दर्ता गरिएको अवस्थामा भएको सुरक्षा निकायका अधिकृतहरुसँगको भेटलाई विभिन्न अड्कलका साथ विश्लेषण गरिएको छ ।
छलफलमा नेपाल प्रहरीका पूर्व महानिरीक्षक मोतीलाल बोहरा, कुवेरसिंह राना, रविन्द्रप्रताप शाह, उपेन्द्रकान्त अर्याल,प्रकाश अर्याल, ओमविक्रम राणा,श्यामभक्त थापा,रमेश चन्द ठकुरीलगायत थिए । त्यसैगरी सशस्त्रका आइजीपीहरुमा सनत बस्नेत,शैलेन्द्र खनाल र पुष्पराम केसी पनि त्यहाँ पुगेको बताइन्छ ।
अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा,गणेश अधिकारी, जीतबहादुर केसीसँगै तीन वटै सुरक्षा निकायका अरु अधिकृतहरुमा भूतपूर्व एआइजी तहका थिए ।
दिउँसो ठीक ४ बजे सचिव यादव कोइरालाले छलफलमा सबैलाई स्वागत गर्दै कार्यक्रम शुभारम्भ गरेको बताइन्छ । शीतल निवासको तर्फबाट कसैले पनि नागरिकता विधेयकको बारेमा एउटा शब्द पनि उच्चारण नगरेको सहभागी एक जना अधिकृतले बताए । सचिव यादवले शुरुमै ‘महामहिम राष्ट्रपतिज्यूबाट सुरक्षा निकायका पूर्व हाकिमहरुसँग छलफल,भेटघाटको निम्ति यहाँहरुलाई आमन्त्रण गरिएको,’ भनेर जानकारी गराउनुभएको थियो ।
सचिवले त्यसो भन्ने बित्तिक्कै सबैभन्दा पहिले मोतीलाल,देवीराम र रविराज थापाले धारणा राखेको स्रोतको दाबी छ । रविराज अहिले पनि दिनहुँ नागरिकता विधेयकको विरोधमा नयाँ बानेश्वरको सडकमा आयोजना गरिने विरोध प्रदर्शनको नेतृत्व गर्दै हिँडिरहेका छन् । उनै थापाले शीतल निवासमा बिहीबार साँझ पनि बिधेयकको चर्को विरोध गरेका थिए । उनले पहिले राजालाई झैँ अहिले राष्ट्रपतिलाई उक्साउने भाषामा आफ्ना कुरा राखेको सहभागीहरुको बुझाइ छ ।
त्यसपछि राजेश श्रेष्ठ,केशरीराज घिमिरे,ओमविक्रम राणा र देवेन्द्र सुवेदीले पनि नागरिकता विधेयकबारे टिप्पणी गरेको बताइन्छ । उनीहरुको चर्को भाषामा धारणा सुनेपछि एक जना पूर्वएआइजीले भने, ‘बेलैमा ३० वर्षे सेवा अवधीको हद नलगाएको भए यी बूढाहरुले अझै जागिर खाने रहेछन् । अस्ति पनि उनीहरुले बहालरत हाकिमझैँ आफ्ना कुरा राखे । अरुलाई मान्छे पनि गनेनन् । अहिले बोल्न नदिनेले जागिर खाएको भए अरुलाई पद के दिन्थे !’
झण्डै ६० जनाको उपस्थिति रहेको छलफलमा बोल्नेहरु अरु पनि थिए । जसमा प्रहरीबाट कुवेर राना, श्यामभक्त थापा,उपेन्द्रकान्त अर्याल, रविन्द्रप्रताप मुख्य हुन् । एपीएफको तर्फबाट सनत बस्नेत,शैलेन्द्र खनाललगायत पुष्प,नारायण,केके तामाङ,सुवोध अधिकारी,खडानन्द चौधरी,निराकारबिक्रम शाह, रामशरण पौडेल,रिसभ भट्टराई, सुशी श्रेष्ठ र रोहित थापाले पनि कुरा राखेका हुन् ।
तर उनीहरुले शीतल निवासले किन बोलाएको भन्ने विषय एकातिर र आफ्ना कुरा अर्कातिर हुने शैलीमा धारणा राखेपछि अधिकांश सहभागी अकमक्क परेका हुन् ।
ती सहभागीको बुझाइ छ, ‘रविराजहरुले नागरिकता विधेयकको बारेमा चर्को कुरा गरे । अरुले पनि आफ्नै पाराको कुरा गरे ।’
छलफलमा केही अवकाशप्राप्त प्रहरी अधिकारीहरुले ३० वर्षे सेवा अवधिको कुरादेखि आफूलाई बढुवामा अन्याय गरिएको गुनासो पनि गरेका थिए । ती सबैको धारणा सुनेपछि शीतल निवासका कर्मचारीले पनि सुरक्षा निकायका ठूलाबडा हाकिमहरुलाई नै कुन कुरो कहाँ भन्नेबारे थाहा नभएको र राष्ट्रपतिसँग हारगुहार गरेपछि आफ्नो उद्धार हुने आशयमा छलफलमा उपस्थित भएको अनुमान लगाएका छन् ।
नागरिकता विधेयकको विरोधमा बोलेका रविराजहरुले यस्तो विधेयक कुनै हालता प्रमाणीकरण गर्न नहुने, मुलुकलाई दीर्घकालीन घाटा हुने भन्दै संविधानविद्ले झैँ राष्ट्रपतिलाई सुनाएका थिए । उनीहरुको निश्कर्ष थियो, ‘मुुलुक अब फिजि हुन्छ । नागरिकता बिक्रीमा राखिएको अवस्थामा महामहिमबाट चालिएको कदम ठीक छ ।’
कार्यक्रममा प्रहरी संगठनभित्रैका प्रशासनिक कमजोरी, व्यक्तिगत गुनासो बढी हुन थालेपछि सचिव यादवको साँझको खाना खान अनुरोध गर्नुपरेको थियो । त्यसअघि राष्ट्रपतिले मुलुकमा देखिएको खाद्यान्न संकटलगायत विविध समस्या र प्रकोपको बारेमा लिखिति धारणा राख्नुभएको बताइन्छ ।
सहभागीहरुलाई बोल्न ५ मीनेटको समय दिइए पनि आधा घण्टासम्म ‘ननस्टप’ बोलेका थिए । हिजोका दिनमा बोर्डरमा बसेका उनै हाकिमहरुले अहिले बोर्डरमा समस्या छ भने चर्का कुरा गरेको सन्दर्भलाई पनि धेरैले पचाउन नसकेको पाइएको छ । ‘त्यो बेलामा उनीहरु पनि जिल्लामा ठूलै पदमा थिए । खुल्ला सीमानाका कारण सबै प्रहरी र प्रशासक तराइका जिल्ला जान चाहेको जगजाहेर छ । आज काबिल भनिएकाहरु हिजो वीरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी भन्सार भएका जिल्लामा गएकै हुन् । उनीहरुले नै जुम्ला जानेहरुलाई झल्लु भन्थे । अहिले ठूलो कुरा गर्नु बेकार देखिन्छ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation