०७४ सालको चुनावमा तीन वटै संघीय निर्वाचन क्षेत्रसहित सबै प्रदेश सांसद जितेर तत्कालीन वाम गठबन्धनले ‘लालझण्डा’ फहराउँदा ललितपुरमा कांग्रेस दयनीय अवस्थामा पुगेको थियो । यसपटक वामहरुले पुरानै वर्चश्व कायम राख्न सक्लान् ? अघिल्लो पटक एउटा पनि क्षेत्र जित्न नसकेको नेपाली कांग्रेसले यसपटक कस्तो परिणाम प्राप्त गर्ला ? निर्वाचनको मिति नजिकिंदै जाँदा संघीय राजधानीसमेत रहेको ललितपुरको सम्भावित परिणामको लेखाजोखा शुरु भएको छ ।
वैशाख ३० को स्थानीय निर्वाचनको परिणाम विश्लेषण गर्दा वामपन्थी (एमाले, माओवादी र एकीकृत समाजवादी) हरूलाई यसपटक ललितपुरमा पुरानो बर्चश्व कायम राख्न कठिन हुने देखिँदैछ । तर, ठीक उल्टो ०७४ मा ‘कन्तविजोग’ अवस्थामा पुगेको कांग्रेसको पुनरागमनको संकेत मतपरिणामले दिएको छ
ललितपुर मात्र होइन, अघिल्लोचोटी काठमाडौँ र भक्तपुरमा पनि वामपन्थीहरूकै बर्चश्व थियो । काठमाडौँका १० मध्ये ६ र भक्तपुरका दुईमा एक सीट तत्कालीन वाम गठबन्धनले जितेको थियो । काठमाडौँमा चार सीट जितेको कांग्रेस दुई जिल्लामा निल भयो । समग्रमा उपत्यकाको तीन जिल्लाका १५ निर्वाचन क्षेत्रमा वाम गठबन्धनले १० सिट जित्दा कांग्रेस जम्मा चार सीटमा खुम्चियो भने भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टीले निरन्तरको एकछत्र जित कायम राख्न सफल भयो । तर, पछिल्लो पाँच वर्ष राष्ट्रिय राजनीतिमा धेरै उत्तारचढाव आएको छ ।
२०७४ सालमा गठबन्धन गरी पार्टी एकता गरेका वामपन्थीहरू अहिले चार चिरामा विभाजित छन् । जसका कारण दलीय समीकरण पूरै फेरिएको छ । माओवादीलाई साथ लिएर उपत्यकाको परिणाम आफ्नो पक्षमा पारेको एमालेका विरुद्ध तत्कालीन नेकपाका अरु तीन घटक सत्ता गठबन्धनमा छन् । त्यसैले यसपटक उपत्यकामा चुनाव जित्नु एमालेका लागि ‘फलामको च्यूरा चपाउनु’ सरह हुने देखिएको छ ।
तीन वटा संघीय निर्वाचन क्षेत्र रहेको ललितपुरको क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट एमालेका नवराज सिलवाल विजयी भएका थिए । उनले २६ हजार ९५१ मतसहित कांग्रेसका उदयसमशेर राणालाई पराजित गरेका हुन् । राणाले २० हजार ७२९ मत ल्याएका थिए । एमाले नेताहरूकै दाबीअनुसार माओवादीको २० र समाजवादीको १० प्रतिशत मत रहेको मान्ने हो भने २६ हजार ल्याएर जितेका सिलवालको मत घटेर १७ हजार ५८१ मात्रै हुन्छ । यो मत गठबन्धनमा मिसिंदा ३० हजार १६१ पुग्छ । पछिल्लो पाँच वर्षमा १० प्रतिशत मतदाता थपिएको अनुमान गरिएको छ । थपिएकामध्ये गठबन्धन र एमालेतिर बराबर भए पनि गठबन्धनको ३३ हजार १७७ र एमालेको १९ हजार २६१ हुन्छ । यो तथ्यांकले एमालेलाई गठबन्धन निकै भारी पर्ने देखिन्छ ।
त्यस्तै, तत्कालीन वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार कृष्णलाल महर्जनले जितेको शहरी बेल्ट क्षेत्र नम्बर २ मा पनि फेरिएको समीकरणले नतिजा अर्कै आउने देखिन्छ । कांग्रेसका चन्द्र महर्जनको भन्दा झण्डै ११ हजार बढी मत ल्याएर जितेका महर्जन अहिले एकीकृत समाजवादीमा छन् । उनले २७ हजार ७१३ मत ल्याउँदा चन्द्रले १६ हजार ९४५ भोट पाएका थिए । महर्जनले पाएको कूल भोटमा माओवादी र समाजवादीको मत घटाउँदा २२ हजार ६२९ हुन्छ । गठबन्धन भने २५ हजार २८५ मतका साथ अगाडि देखिन्छ । थपिएको मतसहित हिसाब गर्दा गठबन्धन २७ हजार ८१३ र एमाले २४ हजार ८९१ हुन्छ ।
ललितपुर महानगरसमेत रहेको क्षेत्र नम्बर ३ मा ऊर्जामन्त्रीसमेत रहेकी माओवादी केन्द्रकी पम्फा भुसालले जितेकी थिइन् । तत्कालीन कांग्रेस जिल्ला सभापति मदनबहादुर अमात्य भुसालसँग दुई हजार भोटले पराजित भएका थिए । भुसालले २४ हजार ३६ भोट ल्याउँदा अमात्यले २२ हजार ३२८ भोट पाए । अहिलेको समीकरणमा गठबन्धन २९ हजार ५३८ मतसहित यो क्षेत्रमा एमालेभन्दा झण्डै १३ हजार भोटले अगाडि देखिन्छ । पछिल्लो पाँच वर्षमा थपिएका नयाँ मतदातासमेत जोड्दा गठबन्धनको ३२ हजार ४९१ र एमालेको १८ हजार ५०७ मत हुन आउँछ ।
स्थानीय तहको परिणामले पनि ललितपुरमा एमालेका लागि सहज देखिँदैन । जिल्लाका ६ वटा पालिकामध्ये कांग्रेसले ललितपुर महानगरको मेयरसहित गोदावरी नगरपालिकामा मेयर, उपमेयर दुवै जितेको छ । बागमती र महाँकाल गाउँपालिकामा कांग्रेसले अध्यक्षसहित बहुसंख्यक वडा जितेर पहिलो दल बन्दा दुवै पालिकामा माओवादीले उपाध्यक्ष जितेको छ । अघिल्लो चुनावमा ललितपुर महानगरमा झिनो मतले पराजयका बाबजुद महालक्ष्मी र महांकालमा प्रमुख जितेको एमालेले महालक्ष्मीमा जित सुरक्षित गर्दा कन्जोस्योम माओवादीबाट खोसेको छ ।
तर, वडाको मत भने बढेको छैन । हुन त अहिले स्वतन्त्रको बाढी नै आएकाले चुनावी परिणाम यसै भन्न सकिँदैन । साथै, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीहरू पनि नतिजा प्रभावित पार्ने ‘फ्याक्टर’ हुने सम्भावना छ । यद्यपि, अहिलेकै राजनीतिक समीकरण विद्यमान रहे एमालेलाई यसअघि जितेका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सुरक्षित गर्न भने निकै चुनौतीपूर्ण हुने पक्का