भित्राउने बेलाको धानमा रोगको संक्रमण

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा धान भित्राउने बेलामा रोगको संक्रमण देखिएको छ। अधिकांश क्षेत्रमा लगाइएको धानमा ह्वाइट फ्लाई सेतो झिङ्गाको संक्रमण देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
धान खेतीमा देखिएको सेतो झिङ्गाले पसाउने बेलाको धानको बाला चुसेर खाने गरेको गैंडाकोट नगरपालिका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले जानकारी दिए।
उनका अनुसार गैंडाकोटको धेरै ठाउँमा ह्वाइट फ्लाई संक्रमण देखिएकामा किसानले चिन्ता व्यक्त गरेको बताए।
‘नगरभित्रका धेरै किसानले ह्वाइट फ्लाईबारे गुनासो गर्न थाल्नुभएको छ’, शाखाप्रमुख शर्माले भने, ’कृषकको धान खेतमा गएर हेर्दा पनि भित्राउने बेलाको धानमा धेरै संक्रमण देखेका छौं। यसको नियन्त्रणका लागि माथिल्लो निकायलाई जानकारी गराइसकेका छौं।’
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले ह्वाइट फ्लाई संक्रमण जिल्लाभरि नै देखिएको बताए।
जिल्लाको जम्मा कति क्षेत्रफलमा यसको संक्रमण देखिएको छ भनेर कार्यालयले तथ्याङ्क लिने काम गरिरहेको उनले बताए।
‘धान खेतीमा देखिएको ह्वाइट फ्लाई थप बढ्दै गई नियन्त्रण गर्न नसकिए धान उत्पादनमा कमी आउन सक्छ,’ सूचना अधिकारी पौडेलले भने, ‘मसिनो खालको सेतो झिंगाले धानको पात चुस्ने, पसाउने बेलाको बाला चुस्ने गरेका कारण धानको बोट नै पहेंलो भएर जाने गरेको छ।’
किराको कारणले धान पहेंलोे भएका बेला किसानले धान खेतमा रासायनिक मल हाल्दा समस्या थप बढेको उनले बताए।
‘जिल्लामा लगाइएका धान खेतीमध्ये केही ठाउँमा खाद्य तत्वको कमी पनि देखिएको छ तर कृषि प्राविधिकको सल्लाहबिना युरिया मात्रै राख्दा धानलाई हरियो बनाउन सहयोग गर्छ र किरालाई थप खानेकुरा मिल्छ,’ उनले भने, ‘धान हरियो हुँदै गएपछि यसले किराको संख्या अझै बढाउने हुँदा रोगको संक्रमण सजिलै फैलिन सक्छ, त्यसैले कृषि प्राविधिकको सल्लाह लिएर मात्रै धानमा मल हाल्ने तथा उपचार गर्ने गर्नुपर्छ।’
नवलपुरको मध्यबिन्दु, कावासोती, देवचुली, गैंडाकोट नगरपालिकासहित विनयी त्रिवेणी, हुप्सेकोट गाउँपालिकामा बर्खे धान लगाउने गरिएको छ।
यस वर्ष जिल्लामा करिब १८ हजार आठ सय १६ हेक्टर जमिनमा बर्खे धान लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ। पसाउने बेलाको धानमा रोगको संक्रमण देखिएका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष धानको उत्पादन घट्न सक्ने अनुमान गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation