
बुटवल चैत २९। तिलोत्तमाकी विना कुमारी पुन उत्कृष्ट उद्यमी घोषणा भएकी छन्। नगर प्रमुख ग्रामिण उद्यम द्रूतीकरण कार्यक्रम अन्तर्गत तिलोत्तमा नगरपालिकामा सम्पन्न तेस्रो चरणको कार्यक्रममा ८५ जना उद्यमीलाई पछि पार्दै विना कुमारी उत्कृष्ट उद्यमी घोषणा भएकी हुन्।
दायित्वले तिलोत्तमा नगरपालिकाको सहयोगमा विगत ९ महिनादेखि संचालन गरेको उद्यम योजना तथा लगानी प्रस्तुती कार्यक्रममा सहभागि ८५ जनाबाट ४० र २० गर्दै छनोट भएका उत्कृष्ट १० जनाबाट विना कुमारी सर्वोत्कृष्ट उद्यमी घोषणा भएकी हुन्।
सर्वोत्कृष्ट घोषणा भएकी विना कुमारीले नगद १ लाख पुरस्कार प्राप्त गरेकी छन्। विना कुमारीले तिलोत्तमा नगरपालिका वडा नम्बर ११ भूपू शैनिक टोलमा विशाल पशुपंक्षी तथा कृषि फार्म संचालन गर्दै आएकी छन्।
गाउँमा परम्परागत रुपमा कुखुरापालन गर्दै आएकी विना कुमारीले २०७८ सालदेखि भने व्यवसायीक रुपमा ब्रोईलर कुखुरा, च्याउ खेती र बंगुरपालन गर्दै आएकी छन्। कुखुरा र बंगुरपालनसँगै परिक्षणको रुपमा च्याउ खेती गरेकी पुनले पहिलो सिजनमै सातलाख रुपैयाँ मुनाफा गरेपछि च्याउ खेतीलाई पनि निरन्तरता दिएको बताईन्।
सर्वोत्कृष्ट उद्यमी घोषित भएकी पुनलाई तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाण, उप प्रमुख जागेश्वरदेवी चौधरी र दायित्वका अध्यक्ष डा. पुकार मल्लले पुरस्कार प्रदान गरेका थिए।
उद्यमीहरुले गर्दै आएको उद्यमको अनुगमन, निरिक्षण तथा दायित्वले आयोजना गरेका विभिन्न कार्यक्रम, तालिम, गोष्ठी लगायतका कार्यक्रममा सहभागिताको आधारमा उत्कृष्ट उद्यमी घोषणा गरिएको दायित्व लुम्बिनी प्रदेश संयोजक कमल थापाले जानकारी दिए।
उत्कृष्ट १० मा पर्ने अन्य उद्यमीहरुमा यम कुमारी पौडेल, सरस्वती बन्जाडे, दुर्गा भण्डारी, मिनु थापा, रोहित सिंह आले, चन्दा घिमिरे, भगवती बश्याल, बलराम काफ्ले र राधेश्याम लोध रहेका छन्। यी मध्ये दोस्रो उत्कृष्ट उद्यमीले ३५ हजार र अन्य ८ जना उद्यमीले १०÷१० हजार नगद पुरस्कार प्राप्त गरेका छन्।
तिलोत्तमा नगरपालिका भित्र उद्योग, पशुपालन, तरकारी खेती, हस्तकला लगायतका व्यवसाय संचालन गर्दै उत्पादन र रोजगारीमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका उद्यमीहरुलाई प्रोत्साहन गर्ने र उद्यमशिलताको विकास गर्ने उद्देश्यले नगरपालिकाको सहयोगमा दायित्वले विगत तिनवर्षदेखि यसप्रकारको कार्यक्रम गर्दै आएको छ।
यसअघि २०७७ सालमा ९० जना सहभागि उद्यमीबाट उत्कृष्ट पाँचजना घोषणा गरिएको थियो भने २०७८ सालमा १२५ जना सहभागिबाट उत्कृष्ट १० जना घोषणा गरिएको थियो।
आगामी वर्ष २०८० को लागि समेत ६० जना उद्यमीले सहभागिता जनाईसकेको दायित्वले जनाएको छ।