
१० वैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेले अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी रहेको बताएका छन् ।
पत्रकारहरुसँग कुरा गर्दै उनले सकारात्मक प्रतिक्रिया पाइरहेकाले आफू आशावादी रहेको बताए । उनले भने, ‘मेरो हृदयले शुभदिन भन्छ । बिहानैदेखि उत्साह देखिएको छ । जुन प्रतिक्रिया प्राप्त गरेको छु, एकदम सकारात्मक रुपले लिएको छु । त्यसैले नतिजा असाध्यै उत्साजनक हुनेछ । अघिल्लोपटकको भन्दा पनि राम्रो हुन्छ भन्ने मैले अनुमान गरेको छु ।’
अघिल्लो पटकको भन्दा पनि मत बढ्छ भन्ने लाग्छ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘मैले त्यस्तो अपेक्षा गरेको छु ।’
आफ्ना कोही कार्यकर्ताहरु नभएको भन्दै उनले मतदाताले विवेकपूर्ण ढंगले मतदान गर्ने विश्वास व्यक्त गरे ।