एमाले सचिव रायमाझीका छोरालाई प्रहरी हिरासतमा राख्न अनुमति

पूर्वमन्त्री, एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।

सर्वसाधारण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौँ रुपैयाँ कुम्ल्याएको आरोपमा पक्राउ परेका उनलाई तीन दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आज प्रहरीलाई अनुमति दिएको हो ।

हिजो राति बुटवलमा पक्राउ परेका सन्दीपलाई आज बिहान बुद्ध एअरको उडानमा काठमाडौँ ल्याइएको थियो । बिहान साढे ९ बजेको समयमा काठमाडौं ल्याइएका उनलाई प्रहरीको काठमाडौं परिसर टेकूमा केहीबेर बयान लिएपछि जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

अर्बौं रकम ठगीको उक्त घटनामा पूर्वमन्त्री रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । तर, हिजो दिउँसो सभामुख देवराज घिमिरेसँगै गृहजिल्ला अर्घाखाँचीको एउटा कार्यक्रममा देखिएका उनी अहिलेसम्म पक्राउ परेको आधिकारिक जानकारी दिइएको छैन ।

हिजो राति साढे ८ बजे भैरहवाबाट काठमाडौं आउने विमान टिकट भएका उनले साढे ९ बजेको निम्ति टिकट सारेका थिए । सोही समयमा छोरो बुटवलमा समातिएका हुन् । त्यसपछि बेखबर रहेका रायमाझीको खोजी व्यापक रुपमा भइरहेको प्रहरीले बताएको छ ।

उनको सचिवालयले रायमाझी राति नै काठमाडौं आएको जानकारी दिए पनि प्रहरीको एउटा स्रोतले उनलाई आज बिहान भैरहवामा नियन्त्रणमा लिइएको जनाएको थियो । तर, आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation