पेट्रोल तस्करीको आरोपमा समातिए चोपनारायण, बुझाए २९ लाख

बुटवलका बिवादास्पद ट्यांकर ब्यवसायी चोपनारायण श्रेष्ठ फेरी पेट्रोलियम पदार्थको तस्करीमा संलग्न भएको भेटिएपछि कार्वाहीमा परेका छन्।

पटक पटक जरिवाना र कारवाही भोग्दै आएका श्रेष्ठले यसपटक २९ लाख भन्दा बढी रकम धरौटी राखेर उम्केका छन् भने उनका चालक अजय केसी भने धरौटी राख्न नसकेर प्रहरी हिरासतमा थुनिएका छन्।

श्रेष्ठको स्वामित्वमा रहेको एक्सप्रेस परिवहन सेवा प्रालिको ट्यांकरबाट पेट्रोल तस्करी गरेको पाईएपछि उनले भैरहवा भन्सार कार्यालयलाई २९ लाख बढि रकम धरौटी बुझाएका छन्। भने उनको नाममा रहेको ट्यांकर भन्सार कार्यालयमै थन्किएको छ।

एक्सप्रेस परिवहन सेवा प्रालीको लु २ ख ४८३९ नम्बरको ट्यांकरले गत बैशाख ८ गते भारतीय आयल कर्पोरेसन (आईओसी) को बेतालपुरस्थित डिपोबाट स्वीकृत पीडिओ २० किलोलिटर भन्दा ३ हजार ३ सय ८३ लिटर बढी पेट्रोल भेटिएको थियो।

भैरहवा नाकाबाट भन्सार पास गराउने क्रममा शंका लागेपछि नियन्त्रणमा लिएर जाँच गर्दा ३ हजार ३ सय ८३ लिटर बढी पेट्रोल भेटिएपछि प्रहरी मार्फत भन्सार कार्यालय र नेपाल आयल निगमले ट्यांकर र चालक अजय केसीलाई नियन्त्रणमा लिएको थियो।

चोरी तस्करी गरि स्वीकृत परिमाणभन्दा बढि पेट्रोल ल्याएको पाईएपछि बेलहिया भन्सार कार्यालयले २९ लाख ६ हजार ८० रुपैयाँ धरौटी लिएर ट्यांकर संचालक श्रेष्ठलाई छोडिदिएको हो। भन्सार कार्यालय बेलहियाका प्रमुख मनिराम पौडेलका अनुसार श्रेष्ठले २३ हजार ३८३ लिटर पेट्रोलको २८ लाख ६ हजार ८० र आफ्नो १ लाख गरि कुल २९ लाख ६ हजार ८० रुपैयाँ धरौटी बुझाएका छन्।

ट्यांकरका चालकले भने धरौटी बुझाउन नसकी प्रहरी हिरासतमा रहेका छन्। भन्सार कार्यालयले चालकको ५० हजार र पेट्रोलको २८ लाख ६ हजार ८० गरि कुल २८ लाख ५६ हजार ८० रुपैयाँ धरौटी माग गरेको थियो। ‘ट्यांकर संचालक श्रेष्ठले धरौटी बुझाएर हिरासतमा बस्नबाट मुक्ति पाएपनि चालकले भने धरौटी बुझाउन नसकेपछि हिरासतमा रहेका छन्,’ पौडेलले भने।

नेपाल आयल निगमले चालकलाई सधैका लागि नेपाल आयल निगम संग सम्वन्धित ट्यांकर चलाउन बन्देज लगाएको छ भने सम्बन्धित ट्यांकरलाई तिनमहिना सम्म तेल ढुवानी गर्न बन्देज लगाएको छ। नेपाल आयल निगम भलवारी डिपोका प्रमुख जगदिशचन्द्र यादव २० किलोलिटर पेट्रोलियम पदार्थ ढुवानी गर्ने क्षमता रहेको ट्यांकरमा झण्डै चारसय लिटर बढि पेट्रोल ढुवानी गर्नु सुरक्षाको हिसाबले समेत जोखिम हुने बताउँछन्।

‘त्यो ट्यांकरको क्षमता २० किलोलिटरको हो, सुरक्षाका लागि ६र७ सय लिटरको स्पेस खाली छोडिएको हुन्छ, एक्सप्रेस परिवहन सेवा प्रालिको उक्त ट्यांकरले सुरक्षाका लागि स्पेस नछोडी जोखिम मोलेर पेट्रोल भरेर ल्याएको भेटियो,’ यादवले भने।

विगतमा पनि इन्धनमा चोरी तस्करी र चुहावट हुने गरेको पाईएपछि आयल निगमले चोरी तथा चुहावटलाई रोक्न भन्दै लकिङ प्रणाली जडान गरेको थियो।

भारतीय आयल कर्पोरेसन बाट ईन्धन ढुवानी गर्ने ट्यांकरहरुमा आयल निगम आफैले लकिङ गरेर पठाएको हुन्छ। ट्यांकरमा लगाईएको लकिङ भारतीय आयल कर्पोरेसनको डिपोमा पुगेपछि मात्र खोलिन्छ। आईओसीमा ईन्धन भरेपछि पुनः लकिङ गरिएको ट्यांकर नेपाल आयल निगमको डिपोमा आएपछि खोलेर ईन्धन अनलोड गरिन्छ।

तर लकिङ प्रणाली जडान भएकै ट्यांकरबाट इन्धन तस्करी भएपछि अनुसन्धानको विषय बनेको छ। नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनका डिपोहरुमा मात्र ट्यांकरका लकिङ खोलिने गरेकोमा स्वीकृत परिमाण भन्दा बढि ईन्धन कसरी लोड गरियो भन्ने अनुसन्धान भईरहेको भलवारी डिपो प्रमुख यादवले बताए।

अहिले नियन्त्रणमा लिईएको ट्यांकरलाई बेलहिया भन्सार कार्यालयमा राखिएको छ। ट्यांकरमा ल्याईएको पेट्रोल भने आयल निगम भलवारी डिपोले रकम जम्मा गरि सकारेको भन्सार प्रमुख पौडेलले बताए।

ट्यांकर व्यवसायी संघ रुपन्देहीका पुर्व अध्यक्ष समेत रहेका श्रेष्ठको नाममा रहेको एक्सप्रेस परिवहन सेवा प्रालि मातहत २६ वटा ट्यांकर संचालित छन्। श्रेष्ठकै ट्यांकर विगतमा पनि तस्करीमा संलग्न भएको पाइएपछि कारवाहीमा परेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ७ वर्ष पहिले श्रेष्ठ विरुद्ध सर्वोच्च अदालतमा समेत मुद्धा दायर गरेको थियो।

उक्त मुद्धाको समेत अझै अन्तिम किनारा नलागेको अवस्थामा फेरी श्रेष्ठकै ट्यांकर पेट्रोल तस्करीको आरोपमा कारवाहीमा परेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation