बुटवल, जेठ १५ । बुटवलको गोलपार्क स्थीत बमघाटबाट बसन्तपुरमा रहेको नवनिर्मित कामख्यादेवि मन्दिर सम्म जाने केवलकार आजबाट सन्चालनमा आउने भएको छ।
आईएमई ग्रुपको नेतृत्वमा लुम्बिनी केबलकार प्रालीले निर्माण गरेको केवलकार बुटवल उपमहानगरपालिका वडा नं ३ बमघाटबाट पाल्पाको तिनाउ गाउंपालिका वडा नं. ३ मा पर्ने बसन्तपुरमा रहेको कामख्या मन्दिर सम्म सन्चालनमा आएको हो।
केबलकार सन्चालनलाई लक्षित गरेर लुम्विनी केवलकार प्रालिले नै टप स्टेसन रहेको तिनाउ गाउपालिकाको बसन्तपुर डांडामा कामाख्या देवीको मन्दिर निर्माण गरेको हो।
केबलकार संचालन हुनुपुर्व नै बसन्तपुर डाडामा रहेको नवनिर्मित कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी गत शुक्रबार देखि पुजाआराधना गरिएको छ । एकहप्ते पुजा आराधना जेठ १८ गतेसम्म चल्ने छ।
भारतको गुहावटीमा रहको कामाख्या मन्दिरकै शैली र कलामा निर्माण गरिएको मन्दिरमा पुजाआजाका लागि पनि गुहावटीबाट समेत धार्मिक पण्डितहरुले आएको प्रालीले जनाएको छ।
कामाख्या मन्दिरको दर्शन गरे मनोआकांक्षा पुरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको पुजामा सहभागि धर्मगुरु किशोर गौतमले बताए।
बसन्तपुरमा कामाख्यादेवीको मन्दिर सहित भगवती र गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरु निर्माण भईरहेका छन्। त्यस्तै क्यासिनोसहितको एक सय ५० कोठाको पांचतारे होटल, रेष्टुरेण्ट निर्माणको काम भईरहेको लुम्विनी केवलकार प्रालिका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए।
नेपालका मात्र नभई बुटवलदेखि नजिकै रहेको भारतको गोरखपुर, लखनउ लगायतका शहरबाट समेत भारतीय पर्यटकहरुलाई आकर्षित गर्न सकिने बिश्वासका साथ केबलकारमा लगानी गरिएको ढकालले बताए।
ढकालले लुम्विनी केवलकार प्रालिले केवलकार र रिर्सोट तथा तारे होटल सहितको यो परियोजनामा ५ अर्ब लगानी भएको बताए। केबलबारमा मात्र डेढ अर्ब लगानी भएको उनले जानकारी दिए।
तिन किलोमिटर दुरीको केबलकारको बेस स्टेशन, टावर, टप बटम स्टेसन लगायत सबै निर्माणका कामहरु पुरा भई अहिले प्राविधिक परीक्षण सुरु गरिएको प्रालीका व्यवस्थापक गोकुल साउदले जानकारी दिए।
साउदका अनुसार २५ वटा गोण्डुला रहने केबलकारमा एउटा गोण्डुलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन भने प्रतिघण्टा अधिकतम ६ सय यात्रु आवतजावत गर्न सक्ने छन्। केवलकार पूर्ण क्षमतामा संचालन हुदा दैनिक पंँच हजार यात्रुले आवतजावत गर्न सक्ने कम्पनीको भनाइ छ।
एकवर्ष भित्रै संचालनमा ल्याउने घोषणा सहित २०७७ साल फागुन १ गते शिलान्यास गरिएको केबलकार कोरोना महामारीको असर लगायत कारणले एकवर्ष पछि मात्रै संचालनमा आउन लागेको हो। केबलकारको शिलान्यास तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।
केबलकार संचालनको अन्तिम तयारीमा रहेको प्रालीले बुटवल उपमहानगरपालिका र तिनाउ गाउंँपालिकासँग त्रिपक्षीय सम्झौता गरी टिकटको शुल्क निर्धारणका लागि छलफल गरिरहेको जनाएको छ। प्रालीले केबलकारको प्रति टिकट शुल्कको २ प्रतिशत रकम सेवा शुल्क वापत छुट्टाउने छ भने दुईवटा पालिकाले उक्त रकमको ५०÷५० प्रतिशत पाउने छन्।
केबलकार प्रालीले तीन किलोमिटर क्षेत्रमा बुटवल ३ को चुरे सामुदायिक बन समेतको ३ दशमलव १६ हेक्टर र पाल्पाको तिनाउ ३ को चिउरीडाँडा न्याउली सामुदायिक वन समेतको ३ दशमलव ११ हेक्टर गरि ६ दशमलव २७ हेक्टर वन क्षेत्र उपयोग गरेको छ।
सरकारले २५ वर्षका लागि त्यहांको वन क्षेत्र उपयोग गर्न पाउनेगरि केबलकार प्रालीलाई स्वीकृती दिएको छ। प्रालिले सरकारी स्वीकृती भने केबलकार निर्माणको कार्ययोजना थालेको १४ वर्षपछि मात्रै पाएको थियो।
बेस स्टेशन बमघाटदेखि १० मिनेटको यात्रामै पुग्न सकिने बसन्तपुर बुटवलको उखरमाउलो गर्मी छल्ने उपयुक्त विकल्प बन्न सक्ने छ। समुद्री सतहबाट नौ सय ४० मिटरको उचाईमा रहेको बसन्तपुरको तापक्रम बुटवलको भन्दा चारपाँच डिग्रिसम्म कम हुने भएकोले गर्मी मौसममा शितलताका लागि र जाडो मौसममा न्यानोका लागि पर्यटक लैजान सकिने प्रालीले जनाएको छ।