
बुटवल,जेठ २५। फितलो अनुगमनका कारण उपभोक्ता मारमा परेको गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले मासु पसलहरु र सप्लायर्सहरुमा अनुगमन थालेको छ।
बिशेष गरेर भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको तथा बाख्रीको मासुलाई खसी तथा बोकाको मासु भनी बेच बिखन गरेको गुनासो बढेपछि बुटवल उपमहानगरले अनुगमनलाई तिव्रता दिएको हो।
यसका साथै भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा मासु र मासुजन्य पदार्थहरु भित्रिएको सूचनाका आधारमा बुटवलका मासु पसलहरुमा अनुगमन थालेको बुटवल उपमहानगरले जनाएको छ।
जेठ १४ गतेदेखि जेठ २४ गतेसम्म २९ वटा मासु पसल र सप्लायर्समा अनुगमन गरी १ सय १ किलो अखाद्य मासु र ४ प्याकेट अखाद्य ससेज नफत गरी नष्ट गरेको जनाएको छ।
बुटवल उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, मासु व्यवसायी संघ, सञ्चारकर्मीसहितको अनुगमन टोलीले अखाद्य मासु र मासुजन्य पदार्थ जफत गरी नष्ट गरेको बुटवल उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सावित्रादेवी अर्यालले बताइन्।
अनगुमनका क्रममा मापदण्ड पूरा नगरेका, बधस्थल फोहोर र अव्यवस्थित पाइएका, मासु पसल र अन्य पसलहरु एकैठाउमा राखेका, व्यवसाय दर्ता नगरेकाजस्ता मासु पसल तथा सप्लायर्सहरुलाई चेतावनी दिदै सुधार गर्न निर्देशन दिइएको उनले जानकारी दिईन।
अर्यालले मासुको गुणस्तर र मापदण्ड पूरा नगरेका ब्यवसायीहरुलाई कानुनी दायरामा ल्याउने र निरन्तर अनुगमन गरी व्यवस्थित बनाउने उनले बताईन्।
अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका, अखाद्य मासु बिक्रीका लागि राखेका पसलहरुबाट ४० हजार जरिवाना गराइएको अनुगमन तथा सरसफाई शाखा प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिए।
मानिसले विश्वास गरेर खरिद गर्ने मासु स्वस्थ र स्वच्छ हुनुपर्ने, पशुपंक्षी बध गर्दा र मासु बिक्री गर्दा तोकिएको मापदण्ड पूरा गर्नुपर्ने अन्यथा गर्ने ब्यवसायीलाई कानूनी कार्वाहीको प्रक्रिया अगाडी बढाउने उपमहानगरका पशुपंक्षी विकास शाखा प्रमुख झविन्द्र बञ्जाडेले बताए।