भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस ः लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती “वसन्त” ले एक औपचारिक कार्यक्रममा भाषण गर्न नपाएपछि रिसले चूर बनेका छन् । उनले उक्त असन्तुष्टी सामाजिक सञ्जाल फेसबुकमै सार्वजनिक गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुटवलको लुम्बिनी केवलकार सञ्चालनको औपचारिक उद्घाटनका लागि सहभागी कार्यक्रममा भाषण गर्ने मौका नपाएपछि सभामुख घर्ती असन्तुष्ट भएका हुन् ।

आइएमई ग्रुपको लगानीमा बुटवल–बसन्तपुर केवलकार उद्घाटन समारोहमा अतिथी भनेर बोलाइएका सभामुख घर्तीले भाषण गर्ने अवसर नपाएका हुन् । सो बारे असन्तुष्टी व्यक्त गर्दै सामाजिक सञ्जालमा दलाल पूँजीवादको पनि दलालका कार्यक्रममा आफू अपमानित हुनु परेको बताएका छन् । “पराइको प्रगति र सम्मान चाहने हरेक मानवले सँधै पराइबाटै धोका र अपमान व्यहोरिरहनु पर्छ भन्ने सच्चाईलाई बुझ्दाबुझ्दै पनि सचेतता पुर्वक धोका व्यहोर्नु पर्ने र अपमान सहनु पर्ने हुन्छ, जुन हिजो दलाल पूँजीवादका पनि दलालहरुको कार्यक्रममा भयो । हामी ईमान्दार र स्वाभिमानी मान्छेहरुले यश तितो सत्यलाई पचाउन‌ पर्छ । ईतिहासमा म‌ैले नयाँ पाठ सिक्ने अवसर पाइयो मेरै वसन्तपुरमा अर्कैबाट !!!”– सामाजिक सञ्जाल फेसबुकमा घर्तीले लेखेका छन् ।

प्रधानमन्त्री प्रचण्डले केवलकारको बटम स्टेसन बुटवलको बमघाटमा रिबन काटेर केवलकार चढेर टप स्टेसन पाल्पाको बसन्तपुर पुगेका थिए । त्यहाँ आयोजितक कार्यक्रममा नेपाल तथा भारतका अतिथीहरुलाई समेत बोल्न अवसर।दिइएको भएपछि सभामुखले बोल्ने पालो पाएनन् । उद्घाटन समारोहमा लुम्बिनी केवलकारका अध्यक्ष चन्द्र ढकालले आयोजना बारे जानकारी दिए लगत्तै तिनाउ गाउँपालिका प्रमुख प्रेम श्रेष्ठ, बुटवल उपमहानगरका मेयर खेलराज पाण्डे, प्रतिनिधिसभा सदस्य ठाकुर गैरे, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य बिष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली नारायणचौधरी, भारत उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री जगदम्बिका पाल तथा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई मन्तव्यका लागि समय दिइएको थियो । पालो कुर्दा कुर्दै प्रमुख अतिथि बनेका प्रधानमन्त्री प्रचण्डले भाषण गरेर कार्यक्रम सकिएपछि लुम्बिनी प्रदेशका सभामुख घर्ती सन्तुष्ट बन्न पुगेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation