तराईको गर्मी मौसम र बिहानी कक्षा

शिक्षा प्राप्त गर्नु हरेक नागरिकको नैसर्गिक अधिकार हो । नेपालको संविधान २०७२ मा शिक्षालाई मौलिक हकको रूपमा उल्लेख गरिएको छ । भौगोलिक स्वरूप र हावापानी को दृष्टिले हाम्रो देश नेपाल विविधतायुक्त रहेको छ कठिन भौगोलिक धरातल र प्रतिकुल मौसम तथा हावापानीको कारणले देशका हिमाली र दुर्गम पहाडी क्षेत्रहरुमा जाडो समयमा विद्यालयहरुमा पठनपाठन बन्द गरि अनुकुल समयमा मात्र विद्यालय संचालन गरिन्छ भने तराईका जिल्लाहरूमा पनि गर्मी बढे सँगै विद्यालयहरु बिहानीको समयमा सन्चालन हुँदै आएकाछन ।

पठनपाठन कार्यलाई विद्यार्थीको शारीरिक, मानसिक तथा वातावरणिय अवस्थाले प्रभाव पार्ने हुँदा विद्यालयको भौतिक अवस्था, वातावरण, मौसम तथा हावापानी बाल मैत्री हुनु जरुरी छ। सामान्यतया तराईमा गर्मीको समयमा बिहान र साँझको समयमा काम गरि दिउसो खाना खाएर सितल छहारी वा घरमै आराम गर्ने गरिन्छ किनकी दिउसोको चर्को गर्मीमा काम गर्न असम्भव प्राय ने हुन्छ . प्रचण्ड गर्मीको यस्तो मौसममा दिवा कक्षा सन्चालन गर्ने अधिकांस विद्यालयहरु बालबालिकाहरुलाई अध्यापन गर्ने स्थान भन्दा पनि सजाय दिने ठाउँ जस्ता भएका छन । बिद्यालयका कक्षा कोठाहरुमा पखा झुन्ड्याईए पनि विद्यार्थीहरूले हेरेरै चित्त बुझाउनुपर्ने अवस्था रहेको छ । लो भोल्टेज छिन छिनमै बिजुली जाने र विद्यार्थीहरूको अधिक संख्याको कारण गर्मीको समयमा कक्षा कोठामा बस्न सक्ने अवस्था छैन ।

बिगत केही बर्ष देखि पठनपाठनको क्रेडिट आवर नपुग्ने भन्दै यहाँका बिद्यालयहरुमा गर्मी महिनामा बिहानी कक्षा सन्चालनमा रोक लगाइएको छ । त्यस्तै प्लस टु सन्चालन गरेका अन्य पालिकाहरुका सम्पुर्ण बिद्यालयहरूले बिहानीको समयमै कक्षा सन्चालन गरेता पनि सैनामैना नगरपालीकाले नगर भित्रका सबै बिद्यालयहरुलाई अनेक असुविधा र भौतिक कठिनाईका बाबजुद अनिवार्य रुपमा दिउसोको समयमै कक्षा सन्चालन गर्नुपर्ने भनी उर्दी जारी गरेको छ . रुपन्देही जिल्लाभरिका सम्पूर्ण ११, १२ कक्षा संचालित बिद्यालयहरु बिहानी समयमा सन्चालन हुने तर सैनामैनामा बिहानी कक्षामा पढाइ नहुने हुँदा बिहानको समयमा अध्ययन गर्न चाहने बिद्यार्थीहरुको चाप बुटवल तर्फ बढ्दै गैरहेको देखिन्छ । विषेश गरि उच्च मा बि तहमा अध्ययन गर्ने विद्यार्थीहरुले बिहानको समयमा अध्ययन गरि दिउसोमा केही रोजगार मुलक कार्य गर्ने गरेको पनि पाइन्छ ।

त्यसैले यो तहमा अध्ययनरत विद्यार्थीहरुमा बिहानी कक्षा प्रतीको आकर्षण बढ्दो छ तर जिम्मेवार निकाय र अधिकारीहरुले बिबेक नपुर्याउँदा यहाँका स्थानीय विद्यालयहरुमा विद्यार्थी संख्या कम हुने र विद्यार्थीले नजिकैको विद्यालयमा आफुले चाहेको विहानी समयमा पठनपाठन नहुँदा अनावश्यक रूपमा समय र पैसा बढि खर्च गरि कक्षा ११ र १२ पढ्न कै लागि टाढा जानू पर्ने वाध्यता रहेको देखिन्छ । त्यसैले यो विषयमा यहाँका बुद्धिजीवी, सरोकारवालापक्ष, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको राय सल्लाह लिएर पुनः बिहानी को सितल समयमा सम्बन्धित कक्षाहरु सन्चालन गर्दा उचित हुने देखिन्छ भने अन्य कक्षाहरु पनि गर्मी समय भरी बिहानीको सित्तल समयमा सन्चालन गर्दा बालबालिकाहरुको पठनपाठन र स्वास्थ्यमा समेत सकारात्मक प्रभावपर्ने देखिन्छ । त्यसैले यस विषयमा सम्बन्धित निकायले बेलैमा सोच्ने कि ?

लेखक: सैनामैनाको नगर गानका रचयिता तथा पशुपती मा बि का सहायक प्राध्यानध्यापक समेत हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation