७ बजे शंकास्पद वस्तु राखे, साढे ११ सम्म रमिता हेरिरहे

३ साउन, काठमाडौं । बुधबार बिहान पौने १० बजेतिर प्रहरी कन्ट्रोलमा फोन आयो, ‘सिनामंगलस्थित खोटाङ हलेसी सुन चाँदी पसल अगाडि बम जस्तो देखिने वस्तु राखिएको छ ।’ लगत्तै यो सूचना प्रहरी वृत्त, गौशालासम्म पुग्यो, प्रहरीको टोली पुगेर घटनास्थललाई सुरक्षित गरायो ।

त्यहाँ ‘नेपाल उत्थान क्रान्तिकारी पार्टी’को नाममा एउटा पर्चा पनि भेटियो । त्यसमा ज्वेलरीका सञ्चालकलाई आफ्नो पार्टीलाई सहयोग गर्न भनिएको थियो । ‘।। तपाईंको सहयोगले हाम्रो देश र जनताहरुलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो’, पर्चामा भनिएको थियो, ‘यहाँ आरडीएक्स बम बारुदको बम राखिएको छ, सावधान रहनु होला ।’

 

घटनास्थलमा पुगेर प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खबर गर्‍यो । सेनाको टोली आएर डिस्पोज गर्ने प्रक्रिया थाल्यो । त्योबीचमा प्रहरी वृत्त, गौशालाका डीएसपी समिरबाबु खड्कासहितको टोली नजिकै रहेको पसलका क्लोज सर्किट (सीसी) क्यामराको दृश्यहरु हेर्न थाल्यो ।

त्यसक्रममा शंकास्पद वस्तु राखिएको पसल अगाडि सडक पारिपट्टी रहेको सीसी क्यामरामा शंकास्पद वस्तु राख्ने व्यक्तिको कम्मरमुनिको भाग देखियो ।

बिहान ७ बजेर ९ मिनेट जाँदाको फुटेजमा टिसर्टको थोरै भाग, निलो पाइन्ट र चप्पल लगाएको व्यक्तिले शंकास्पद वस्तु खसालेको देखिएको थियो ।

प्रहरीले अन्य पसलको पनि सीसी टीभी हेर्दै उनले त्यो ठाउँ छाडे नछोडेको निष्कर्ष निकाल्यो । त्यसक्रममा उनी टाढा नपुगेको हुनसक्ने देखियो । कतै आरोपी मानिसहरुको भीडतिरै पो छन् कि ? प्रहरीलाई शंका थियो । त्यसैले हुलियाका आधारमा प्रहरी टोली खोजीमा आसपास परिचालित थियो ।

त्यसक्रममा प्रहरीले घटनास्थल नजिकै रहेको सुदूरपश्चिम खाना खाजा एण्ड सेकुवा घर सिनामंगलबाट आरोपी रौतहटका २८ वर्षीय खजयन्ती पासवानलाई पक्राउ गर्‍यो । पक्राउ गरेर लैजाँदा प्रहरीको पक्षमा भीडले नारा लगायो ।

पक्राउ परेपछि खुल्यो, प्रहरीले पहिले शंका गरेझैँ आरोपी पासवान भीडमै बसेर रमिता हेरिरहेका रहेछन् ।

अगाडि सशस्त्र प्रहरीको टोली घटनास्थल सुरक्षामा खटिएको छ भने पछाडि उनी एक जना व्यक्तिबाट थोरै छेलिएर बसेका छन् । पछि १२ बजेर ४ मिनेट जाँदा प्रहरीले उनलाई नजिकै रहेको होटलबाट पक्राउ गर्‍यो ।

ज्वेलरीका सञ्चालक मने विश्वकर्माका अनुसार उनलाई ५ लाख रुपैयाँ माग्दै धम्कीसहितको फोन पटकपटक आएको थियो । नदिएपछि शंकास्पद वस्तु राखेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । यद्यपि, घटनाको विस्तृत अनुसन्धान बल्ल सुरु हुँदैछ ।

नेपाली सेनाले शंकास्पद वस्तुलाई डिस्पोज गराएको छ । सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले तर्साउनलाई बम जस्तो देखिने गरी ब्याट्रीमा तार बेरेर राखिएको पाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation