शीर्ष नेताहरुको बैठक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि स्थगित

५ भदौ, काठमाडौं । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक भोलि बुधबार बस्ने भएको छ ।

आज बस्ने भनिएको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि बैठक नै नबसेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए ।

 

तर नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भने प्रधानन्यायाधीशको शपथ पनि रहेको र ओली बिरामी भएकाले आज बैठकमा नआएकाले भोलि शीर्ष नेताको बैठक बस्ने जानकारी दिए ।

राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको थियो । सो समितिको संरचना र कार्यक्षेत्रको प्रस्ताव तयार पार्न नेकपा एमालेका सुवास नेम्वाङ, नेपाली कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेसहितको कार्यदल पनि गठन गरिएको थियो ।

कार्यदलले तयार पारेको उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्रको मस्यौदाका बारेमा शीर्ष नेताहरुको बैठकमा पेस गर्नका लागि शीर्ष नेताको बैठक बोलाइएको थियो ।

एमालेका प्रमुख सचेतक गिरिले उच्चस्तरीय समितिको संरचना र कार्य क्षेत्र नटुंगिएको र प्रधानन्यायाधीशको शपथ पनि रहेकाले आजको संसद बैठक नबस्ने जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation