विपक्षीको बहिस्कारपछि कोशी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले बहिस्कार गरेपछि कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सभाध्यक्ष इस्राइल मन्सुरीले बैठक सुरु गरेलगत्तै एमाले र राप्रपाका प्रदेशसभा सदस्यले उठेका थिए । उनीहरु सभाध्यक्षविरुद्ध नाराबाजी गर्दै बैठक कक्ष छाडेर बाहिरिएपछि मन्सुरीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार सभाध्यक्षको पनि मत प्रयोग गरेर विश्वासको मत लिएका थिए । त्यसको विरोध गर्दै प्रतिपक्षी दलहरुले प्रदेशसभा बहिस्कार गरेका हुन् ।

 

बैठक सुरु भएलगतै बोलेका राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले विश्वासको मत लिने प्रक्रियामा सभाध्यक्षबाट गैर संवैधानिक, गैर संसदीय अभ्यास भएका कारण बैठक बहिस्कार गर्ने बताए । उनीपछि बोलेका एमाले सांसद तिलकुमार मेन्याङ्बोले बैठकको अध्यक्षता गर्ने व्यक्तिले असंवैधानिक काम गरेको बताए ।

सभाध्यक्षले संविधानको ठाडो उल्लङ्घन गरेको बताउँदै उनले फेरि असंवैधानिक कदम हुनसक्ने भएकाले संसद बैठक बहिस्कार गरेको बताए । त्यसपछि एमाले सांसदहरुले ‘असंवैधानिक कदम मुर्दाबाद’ भन्दै संसदबाट बाहिरिएका थिए ।

बुधबारको बैठकमा प्रदेश निजामती सेवा ऐन २०७९ लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्ने कार्यसूची थियो । तर प्रतिपक्षले संसद बैठक बहिस्कार गरेपछि कार्यसूचीमा बैठक प्रवेश गर्न सकेन् ।

सभाध्यक्षलाई प्रयोग गरेर विश्वासको मत लिएपछि नेकपा एमालेले संसदीय दलका नेता हिक्मतकुमार कार्की रिट लिएर सर्वोच्च पुगेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation