वामदेवले बिर्सन नहुने ६ धोका

बुधबार बेलुकी सम्पन्न नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव थियो,कोरोना भाइरस निर्मूल भएपछि प्रधानमन्त्री वामदेव,पार्टीको तेस्रो अध्यक्ष माधव नेपाल ।

विशेषतः वामदेव कार्डको प्रयोग विषयबस्तुको विश्रामका निम्ति प्रयोग हुने, तत्कालिन समस्याले एक किसिमको निकास पाउने र बचन पूरा नहुने क्रम विगतका विभिन्न घटनाक्रममा देखिँदै आएको छ ।

नेकपाबृत्तमा दुई किसिमको चर्चा छ । एउटा हो,ओली अप्ठ्यारोमा पर्दै गएपछि वामदेवमाथि ढिलै भए पनि न्याय हुने भयो । अर्को चर्चा हो, फेरि वामदेवको कार्ड फ्याँकेर केपीले संकटबाट पार पाउने र वामदेव फेरि पनि जिल्ल पर्ने ।

त्यसमाथि प्रतिनिधिसभामा वामदेवको उपस्थिति नभएको स्थितिमा उहाँलाई प्रधानमन्त्री बनाउने कुराको निश्चिततामाथि पनि प्रश्न उठ्न थालेको छ । उहाँलाई कुनै उपायले संसद प्रवेश गराएर प्रधानमन्त्री बनाउन त सकिन्छ । तर, यसप्रति प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष प्रचण्ड, प्रस्तावित अध्यक्ष माधव नेपालहरुको प्रतिवद्धता के हो ? नेकपा कार्यकर्ताले अझै बुझ्न सकेका छैनन् ।

तर, स्वयं वामदेवले केही धोकाधडीका श्रृंखला यतिबेला सम्झिएर अगाडि बढ्नु उहाँकै निम्ति मनासिव हुने उहाँको अस्थिर स्वभाव बुझेर बेलैमा कित्ताकाट गरिसकेका केही नेताको बुझाइ छ  । विगतमा उहाँमाथि भएका धोकाका केही श्रृंखला यस्ता छन् ।

धोका १
०६४ मा गठित प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री हुनुहुन्थ्यो वामदेव गौतम । यो सरकारले ०६४ चैतमा नेपाली सेनाका तीनतारे जर्नेल कूलबहादुर खड्कालाई प्रधानसेनापति नियुक्तिका लागि निर्णय गर्यो । त्यो निर्णय हुनुअघि पार्टी अध्यक्ष झलनाथ खनाल चीन जानुभएको थियो । यता, वामदेवलाई यस्तो निर्णयमा अडिग हुन निर्देशन दिएर निर्णय भयो । त्यसमा व्यापक विवाद आयो । र, झलनाथ खनालसहितका राजनीतिक दलहरुको सुझावमा टेकेर राष्ट्रपतिबाट उक्त निर्णय खारेज भयो । प्रचण्डले सरकारबाट राजीनामा दिनुभयो । वामदेवमाथि धोका भयो ।

धोका २
दोस्रो संविधानसभा निर्वाचनलगत्तै झलनाथ खनाल पार्टी अध्यक्ष भएको नाताले स्वतः संसदीय दलको नेता हुनुपर्ने माधव नेपालसहितका नेताहरुको मान्यता थियो । विकल्पमा माधव नेपालको नाम अगाडि सारियो । तर, वामदेव गौतमको तर्क फरक रह्यो । उहाँले भन्नुभएको थियो, पार्टी अध्यक्षलाई संसदीय दलको नेतृत्व पनि दिँदा काम विकेन्द्रित हुँदैन । त्यसैले पार्टी नेतृत्वदेखि संसदीय नेतृत्वसम्म नपाएको व्यक्ति दलको नेता हुनुपर्छ भन्ने तर्कका साथ केपी ओलीलाई संसदीय दलको नेताका रुपमा अगाडि सारियो । झलनाथ र केपीबीच चुनाव भयो । केपीले जित्नुभयो । यसमा वामदेवसँग रहेका ३० प्रतिशत सांसदहरुको भूमिका महत्वपूर्ण थियो ।

त्यसलगत्तै सुशील कोइरालाको नेतृत्वमा गठन भएको सरकारमा एमालेका तर्फबाट वामदेव गौतमले तेस्रोपटक उपप्रधान तथा गृहमन्त्रीका रुपमा जिम्मेवारी पाउनुभयो । त्यसपछि केपीको तर्फबाट शर्त थपियो, महाधिवेशनबाट पार्टी अध्यक्ष बन्ने कुरामा भूमिका खेल्नुपर्ने । त्यसबापत बचन दिइएको थियो, अध्यक्ष भएपछि पुनर्गठन हुने सरकारको प्रधानमन्त्री बनाउने । संविधान जारी भएपछि वामदेवकै पहलमा माओवादी केन्द्रसँग सत्तासमीकरणको सहमति बन्यो । आफूलाई प्रधानमन्त्री बनाउलान् भनेर गरेको यो मेहेनत खेर गयो, केपी ओली आफैँ प्रधानमन्त्री बनेपछि । यो स्थितिमा वामदेवकै कारण प्रधानमन्त्री बन्नमै समस्या आउला भन्ने बुझेपछि केपीले आश्वासन दिनुभयो, ‘प्रधानमन्त्री भएको एक हप्ताभित्र संसदीय दलको नेता तपाईं ।’ तर, न प्रधानमन्त्री, न संसदीय दलको नेता । वामदेवलाई हात लाग्यो शून्य ।

वामदेव हो भन्ने ।
होला त भन्ने भएर वामदेव रातदिन प्रचण्ड फकाउन व्यस्त हुनुभयो । तर, कांग्रेससँगको गठबन्धन सरकार,त्यो गठबन्धन तोड्दा हुनै लागेको चुनाव पनि नहोला भन्ने प्रचण्डको मनशाय आएपछि त्यसपछिका चुनावमा गठबन्धन गर्ने बचन आयो ।

र, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा मुख्यतः वामदेवकै पहलमा माओवादीसँग चुनावी गठबन्धन हुँदै पार्टी एकतासम्मका कुरा आए । यतिबेलासम्म यो प्रक्रियामा अरु पनि जोडिए, जस्तै विष्णु पौडेल, घनश्याम भूषाल हुँदै स्वयं अध्यक्ष केपी ओली । तर, पहिला ‘प्रधानमन्त्री बन्ने पालो वामदेवको’ भन्ने कुरा यतिबेलासम्म के भयो ? यसबारे न वामदेवले जान्ने प्रयास गर्नुभयो, न अन्य नेताले नै भन्ने आँट गरे । फलतः बर्दियामा भावी प्रधानमन्त्रीका रुपमा उहाँले भोट माग्नुभयो । काठमाडौंबाट सूर्य थापाहरुको कमाण्ड खडा गरेर उहाँलाई चुनाव हराउने योजना बन्यो । काठमाडौंले हराउने योजना बनाउँदै जाने, बर्दियामा कार्यान्वयन हुँदै जाने क्रमले उहाँले चुनाव हार्नुभयो ।

धोका ४
चुनाव हारेर फर्किएपछि बालुवाटारबाट वामदेवलाई थम्थम्याइयो, पुनःनिर्माण प्राधिकरणको स्तरोन्नती गरी उपप्रधानमन्त्री तहको व्यक्तिलाई सबैखाले भौतिक निर्माणको कामको अगुवाई दिने भनी ।

यसमा वामदेव निक्कै उत्साहित भएर लाग्नुभयो । प्राधिकरण ऐनको संशोधनका लागि मस्यौदा बन्यो । चित्त नबुझेका कुरा वा आफ्नो चाहनाका बुँदा उहाँद्वारा नै संशोधन भयो । संसदमा पेश गर्नका लागि मन्त्रिपरिषद्ले स्वीकृत दिने तहसम्म पुग्यो । तर, मन्त्रिपरिषद्को फाइलबाट त्यो मस्यौदा कहाँ हरायो ? अहिलेसम्म पत्तो छैन ।

धोका ५

वामदेवले हारेपछि चुनाव जितेका थुप्रै सांसद उहाँसँग भेट्न गए । सबैले भने, हामी सबैले जित्नु र तपाईं एउटाले हार्नुमा तपाईंको हारको नरमाइलो बढी छ । यसो भन्नेमध्येका एक हुन्, डोल्पाबाट जितेर आएका धनबहादुर बूढा ।

उनलाई राप्रपाबाट एमाले प्रवेश गर्नासाथ पहिलो र दोस्रो संविधानसभामा सांसद बनाएकै वामदेवले । उनले ०७४ को चुनावपछि भने, ‘मलाई तीन महिनाका लागिमात्रै भए पनि मन्त्री बनाइदिनुपर्यो । म हजुरका लागि मेरो क्षेत्र छोडिदिन्छु ।’

‘होला त’ भनेर वामदेवकै पहलमा उनी पर्यटन राज्यमन्त्री बने । तीन महिना बित्यो, तर डोल्पाको सांसदबाट राजीनामा दिएनन् । बरु, वामदेवका लागि धनबहादुरले राजीनामा दिने कुरा बजारमा जति–जति हल्ला हुँदै गयो, उति–उति धनबहादुर बालुवाटारबाट खोजिने, माया गरिने पात्रका रुपमा रुपान्तरित हुन थाले । पछि वामदेवबाट सोधनी भयो, ‘खै त राजीनामा दिएको ?’ उनको जवाफ थियो, ‘बा (केपी) ले नदेऊ भन्नुभयो ।’

धोका ६

फेरि ०७५ सालको असोज लागेपछि रामवीर मानन्धर आए, काठमाडौं क्षेत्र नं. ७ बाट राजीनामा दिन्छु भन्दै । एक हप्ताअघिसम्म ‘वामदेव प्रबृत्ति’ भन्दै जोडदार गाली बर्साउने मान्छे एकाएक त्यसरी वामदेवका लागि क्षेत्र नै छोडिदिन्छु भन्दै पुग्नु आश्चर्यको विषय त थियो । तर, वामदेवले पत्याउनुभयो । रामवीरले प्रचण्डकहाँ लगेर राजीनामा बुझाए । सामाजिक सञ्जालदेखि अनलाइन मिडियाहरु अनेक क्रिया र प्रतिक्रियामा उत्रिए । वामदेवको बदनाम गर्नेहरु यसबेला निक्कै सल्बलाए पनि । अन्ततः राजीनामाको निर्णयबाट रामवीर फिर्ता भए ।
भनिन्छ, वामदेवलाई संसदमा लैजान हैन, उनको बेइज्जत गर्न रामवीर परिचालित भएका थिए । नभन्दै,वामदेवको संसद यात्रा भएन,बरु बद्नाम गरियो र डामेर छाडियो ।

जम्माजम्मीमा रास्टृय सभाको एक थान सदस्य दिने पार्टीको बिधिवत निर्णय कार्यान्वयन हुन नदिने र अहिले सम्बिधान सम्शोधन गरिवरी प्रधानमन्त्री बनाउने वचनको वीच अर्को कुन धोका  लुकेको छ ? जिज्ञासाको बिषय बनेको छ ! #जनाआस्था

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation