सैनामैना नगरपालिकाको नियती ! साँढेको जुधाईमा बाच्छाको मिचाई कहिलेसम्म ?

उज्यालो पोष्ट, सैनामैना ।

नेपालीमा उखान छ– विनासकाले विपरित बुद्धि । यही उखान अहिले सैनामैना नगरपालिकाको हकमा चरितार्थ हुँदैछ । सैनामैना नगरपालिकामा देखिएको बहुमत र अल्पमतको रस्साकस्सीले सैनामैना नगर क्षेत्रको विकास धेरै पछि पर्ने अवस्था उत्पन्न भएको छ । दुवैको दम्भ छ । एमालेको दम्भ छ– आफूहरुको कार्यपालिकामा बहुमत छ, जे चाह्यो त्यो पास हुनुपर्छ ।
उता नगर प्रमुख अल्पमतमा हुँदाहुँदै पनि प्रमुख हुनुको दम्भ छ । दम्भै दम्भको खेलमा घाटा जनतालाई भैरहेको छ । विकास निर्माणको काम सुस्त छ ।

नगरको चहलपहल छैन । नयाँ योजना छैनन् । पुराना योजना पनि पूरा हुने अवस्था छैन । के यही तालले सैनामैनाको विकास होला ? जनताले प्रश्न गर्न थालीसके– चुनावका बेला नेताहरुले गरेको प्रतिवद्धता कहाँ गयो ? यो प्रश्न सत्ता पक्ष र प्रतिपक्ष दुवैलाई हो ।

अर्थात जनताको प्रश्नबाट कांग्रेस र एमाले पन्छिने अवस्था छैन । निश्चितरुपमा कार्यपालिकामा नेकपा एमालेको बहुमत छ । बहुमतको नाताले उसले ल्याएका योजना पास हुनुपर्छ । उता कांग्रेस बन्दुक भैकनपनि गोलीको अभावमा निसाना लगाउनै सकिरहेको छैन । अर्थात उ चुकिरहेको छ । नगर प्रमुखको सुरुवाती दम्भले कांग्रेसलाई अहिलेमात्र घाटा होइन, ०८४ पछिको नेतृत्व गुम्ने डर र चिन्ता छ । उसको असफलताको यात्रा दुईवटा नियुक्तीबाट प्रारम्भ हुन्छ ।

प्रेस सल्लाहकार र कानुनी सल्लाहकारमा नेकपा एमालेसंग परामर्श र छलफल नै नगरी आँधीहुरीको शैलीमा गरिएको नियुक्तीले दुई दलबीच टकराव सुरु हुन्छ । बहुमत हुँदाहुँदै नगर प्रमुखले एकलौटी गरेको एमालेलाई लाग्नु स्वाभाविक हो । त्यसमा दुई विकल्प थिए । एउटा पक्षले प्रेस र अर्कोले कानुनी सल्लाहकार लिएको भए कुरा मिलेरै अघि बढ्थ्यो तर नगर प्रमुखले जुन बठ्याई गर्न खोजे, त्यसमा उनी आफै चुके । आँधीहुरी ल्याउने उनको सपना त्यहीबाट तुहियो अर्थात त्यहीँबाट सुरु भयो– सिटको हैसियत । कार्यपालिकाबाट पारित गर्न समस्या हुन्छ भन्ने जान्दाजान्दै उनले चुनौति लिए ।

अन्ततः प्रमुखको असफलताको यात्रा त्यहीँबाट सुरु भयो । आफ्नालाई नियुक्ती दिएरपनि तलबसमेत खुवाउन नसक्नुका पछिको दोषको भागिदार नगर प्रमुख हुन । उता नियुक्ती पाएकाहरु असमञ्जसमा छन । बहुमतको दम्भमा रमाएको एमाले प्रमुखलाई असफल बनाउन सकिएकोमा दंग छ । यस्ता धेरै समस्या छन– सैनामैना नगरपालिकामा । प्रमुख भएको नाताले सवै जसअपजसको भारी नगर प्रमुख आफैले लिनुपर्ने हुन्छ । उनको असफलताको यात्रा सुरु भैसकेको आम सैनामैनाबासीको अडकल छ । किनभने सैनामैनाको नेतृत्व लिएको डेढ बर्ष हुँदै गर्दा सैनामैनामा देखिनेगरी ठूलो योजना सुरु हुनै सकेनन् । पुराना योजना पनि लथालिंग अवस्थामा छन ।

सैनामैना चक्रपथ, लामीरह आयोजना, सैनामैना जेष्ठ नागरिक ग्राम, फोहर मैला ब्यवस्थापन आदि आदि पुरानै योजना हुन । यी पुराना योजना अघि बढाउन प्रमुखसंग जोश र जाँगर नै छैन । यतिबेला सिंगो नगरपालिकाको टिम सकृय हुनुपर्ने हो । तर, जनप्रतिनिधिहरुमा समेत उही निरासाको बादल छ । बादल फाटने र घाम लाग्ने छनकसम्म छैन । त्यो आशा पनि छैन । किनभने सैनामैनाको मुहार परिवर्तन गर्ने योजना ल्याउन प्रयास नै गर्न नसकेकोमा नगर टिम खिन्न छ । अव जसरी हुन्छ पाँच बर्षे कार्यकाल पूरा गर्ने बाहेक अरु कामको आशा गरिएको छैन । प्रमुख हुनुको दम्भ र बहुमतको एमाले दम्भको टकरावमा सवैभन्दा घाटा सैनामैनाबासीलाई भएको छ ।

यही कारण सैनामैनाको विकास धेरै पछि पर्ने अवस्था आएको छ । अझैपनि समय छ– एकपटक फेरी सोच्ने कि ? चुनावका बेला गरिएको बाचा कम्तिमा पनि पूरा गर्नेतर्फ जनप्रतिनिधिहरु चुक्ने अवस्था आएकै हो ? होइन भने कांग्रेस र एमाले मिलेर नयाँ निकासको खोजी गर । साना दललाई पनि साथमा लिएर अघि बढ्ने कोसिस गर । दम्भको साँढे जुधाईमा बाच्छाको मिचाई हुने काम नगर ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation