छाडा चौपाया व्यवस्थापनमा छिमेकी पालिकालाई गुहार्दै सैनामैना

सैनामैना, कार्तिक १० ।

रुपन्देहीको सैनामैना नगरपालिकामा छाडा चौपाया व्यवस्थापन मुख्य चुनौती बन्दै गएको छ । छाडा चौपाया ब्यवस्थापनमा नगरपालिकाले कुनै दिर्घकालिन योजना बनाउन नसक्दा छाडा चौपाया व्यवस्थापन चुनौतीका रुपमा देखिदै आएको हो । सैनामैनाका सडकमा खुलारुपमा पशु चौपाया छोडिँदा दुर्घटनाको जोखिम बढेको छ भने छाडा चौपायाकै कारण किसानको खेतीबारीमा नोक्सान भैरहेको छ । जसका कारण किसान मर्कामा परेका छन् । खेती स्याहार्नै नपर्ने गरी छाडा चौपाया खेतबारीमा पसी नोक्सान पु¥याएको किसानहरुको गुनासो छ । सैनामैना नगरवासीको मुख्य पेशा कृषि हो तर कृषिमा लगाएको लगानी छाडा चौपायाका कारण खेर गैरहेको किसानहरुको गुनासो छ ।

सैनामैना नगरपालिकाले कृषि क्षेत्रमा वर्षेनी ठूलो लगानी गरेतापनि छाडा चौपाया व्यवस्थापन हुन नसक्दा कृषिको लगानी वालुवामा पानी जस्तै भएको छ । गतवर्ष सैनामैना नगरपालिकाका स्थानीय पत्रकारहरुको चासो र दवाव पछि नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले गैंडहवा गाउँपालिका, कञ्चन गाउँपालिका र सैनामैना नगरपालिकाको संयुक्त सहकार्यमा गैडहवा गाउँपालिकाको वडा नं. ४ मा छाडा चौपाया व्यवस्थापन गरिने भन्दै पटक पटक वैठक वसेतापनि उक्त काम अहिलेसम्म अघि बढ्न सकेको छैन । अहिलेबल्ल सैनामैना नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि छिमेकी जिल्लाको बाणगंगा नगरपालिकासंग गुहार मागेको छ ।

सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्रप्रसाद शर्मा, उपप्रमुख विना राना, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, वडा नं. १० का अध्यक्ष कृष्णप्रसाद घिमिरे, वडा नं. ११ का वडा अध्यक्ष रामप्रसाद भुसाल र वाणगंगा नगरपालिकाका तर्फबाट नगर प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिताकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, वडा नं. २ का वडा अध्यक्ष विष्णुप्रसाद पौडेलबीच वाणगंगा नगरपालिकाको कार्यालयमा सैनामैनाका छाडा चौपाया बाणगंगा नगरपालिकाले व्यवस्थापन गरेको स्थानमा लगेर राख्ने सम्झौता भएको थियो । यता सम्झौता भएको दुई महिना विति सक्दा पनि सो कार्य अहिलेसम्म कार्यान्वयन हुन नसक्दा सैनामैना नगरपालिका उदासिन देखिएको छ ।

छाडा चौपाया ब्यवस्थापनका लागि आर्थिक वर्ष २०८०÷८१ मा खर्च गर्नका लागि सैनामैनामा पाँच लाख रुपैयाँ विनियोजन भएको थियो तर असार मसान्तमा हतारोमा सो रकम सैनामैना १० मा रहेको शिवालय मन्दिर प्राङ्गणमा तारबार गरि रकम सक्किएको थियो भने आर्थिक वर्ष २०८१–८२ मा पनि पाँचलाख रकम विनियोजन गरेर नगरपालिकाले किसानको आँखामा छारो हाल्न खोजेको छ । यसले पनि प्रष्ट हुन्छ की सैनामैना नगरपालिका छाडा चौपाया व्यवस्थापनका लागि उदासिन छ । स्मरण रहोस् वाणगंगा नगरपालिकाले सञ्चालन गरेको छाडा चौपाया व्यवस्थापन स्थल अस्थायी हो । अस्थायी संरचनामा सैनामैना नगरपालिकाले रकम खन्याउनु भनेको यो पनि बालुवामा पानी खन्याए सरह हुने छ ।

छिमेकी पालिकाहरु बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र बाणगंगा नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि काम थालिसकेका छन् तर सैनामैना नगरपालिकाले भने कानमा तेल हालेर निदाइरहेको अवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११, उपदफा २ (ञ) मा छाडा पशु चौपायाको नियन्त्रण कार्यमा सहयोग पु¥याउनका लागि नगर प्रहरी परिचालन गर्न सकिने उल्लेख छ । २०७५ माघ २५ गते उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले छाडा चौपायाको समस्या समाधान गर्नका लागि स्थानीय सरकारलाई नीति बनाउन आदेश समेत दिएको थियो । तर, अहिलेसम्म सैनामैना नगरपालिकाले छाडा चौपाया व्यवस्थापन नीति नै बनाउन सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation