सैनामैना, २४ पुष। सडकमा छाडा कुकुरहरुको संख्या बढ्दै गएपछि सैनामैनामा बन्ध्याकरण गर्न थालिएको छ ।
सडकमा रहेका छाडा कुकुरका कारण नागरिकहरुले समस्या भोगिरहनुपरेको एवं पछिल्लो समय सडकमा कुकुरको संख्या बढ्दै गएपछि दुर्घटनाको जोखिम समेत बढेकाले बन्ध्याकरण गरी न्यूनीकरण गर्न सैनामैनामा बुधवार देखि शुक्रवार सम्म शिविर सञ्चालन गर्ने सैनामैना नगरपालिका पशु शाखाले जनाएको छ ।
केन्द्रीय रिफरल पशु चिकित्सालय काठमाण्डौँ एवं सैनामैना नगरपालिकाको संयुक्त पहलमा सडकमा छाडा छोडिएका कुकुर तथा घरपालुवा कुकुरलाई समेत बन्ध्याकरणमा समावेश गरिएको छ ।
कुकुरकै टोकाईबाट कयौँ घाइते भएर बुटवल, काठमाण्डौँसम्म उपचार गर्न जानुपर्ने समस्या पनि देखिने गरेको छ । त्यसकारण बन्ध्याकरण शिविरमा रेबिज विरुद्धको खोप पनि लगाइने जनाएको छ ।
बरिष्ठ पशु चिकित्सक डा.प्रवेश शर्मा, डा. संजय कुमार यादव, डा. प्रकाश अधिकारी, डा. टिकाराम खनाल, डा. सुदिप रेग्मी, चेता कुमारी वस्नेत, अन्जु थापा, अक्कल स्याङतान, टिका गुरुङ लगायत विज्ञ टोलीले शिविरमा सहजिकरण गरेका छन् ।
सैनामैनामा शिविर सञ्चालन गर्दा पाँच सय कुकुरको बन्ध्याकरण गर्ने योजना बनाइएको सैनामैना नगर प्रमुख फणिन्द्र शर्माले बताउनुभयो । शर्माले भने, ‘एउटा कुकुरले वर्षमा दुई पटक मात्रै ब्यायो भने पनि एउटाले ६ वटा पाउछ, यस्ता कयौँ कुकुर सडकमा छन्, त्यसैले कुकुरको न्यूनीकरण भएपछि रेबिज रोग पनि घट्ने भएकाले यो अभियान सुरु भएको हो ।’
यस्तै कार्यक्रममा सैनामैनाका उप प्रमुख बिना राना लगायतले बोल्दै सैनामैनामा यो कार्यक्रम निकै प्रभावकारी हुने र अब रेबिज रोग सैनामैनामा न्युनिकरण हुने विश्वास व्यक्त गर्नु भएको थियो ।
सैनामैनामा बन्ध्याकरण शिविर सञ्चालन गर्नका लागी केन्द्रीय रिफरल अस्पताल काठमाण्डौँ एवं सैनामैना नगरपालिकाको ३ लाख रुपैँया बिनियोजन गरेका हुन् ।
आफ्नो कुकुरलाई बन्ध्याकरण गराउन सैनामैना नगरपालिका–९ भढुसीवाट आएकी अनिता गुरुङले बन्ध्याकरण शिविर राखेर राम्रो काम गरेको बताए । धेरै कुकुर पाल्न नसकिने र रेबिज विरुद्धको ईन्जेक्सन लगाउने भएकोले आफुले कुकुर लिएर आएको रिजालले बताइन् । ।
यसबाट कुकुरको संख्या नियन्त्रण हुने र टोकी हाले पनि रेबिज लाग्ने खतरा नरहने भएकोले शिविर महत्वपूर्ण भएको बताए ।
सैनामैनाका विभिन्न ठाउँहरुमा कुकुरले मानिस तथा पशु चौपायालाई समेत टोकेर घाइते बनाएका घटनाहरु पनि समय समयमा आउने गरेका छन् । आर्थिक वर्ष २०८०÷८१ मा मात्र पर्रोहा स्वास्थ्य चौकिमा १२०० बिरामी रेबिज विरुद्धको खोप लगाउन आएको तथ्याङ्क छ ।