ओलीको आक्रोश : मलाई एक्लाउन खोज्ने ?

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भयो लगत्तै सचिवालय सदस्य माधव कुमार नेपालले विधिसम्मत रुपमा पार्टी सञ्चालन गरिनुपर्ने माग गरे । 

माधव नेपालको सो मागमा अधिकांश सचिवालय सदस्यले समर्थन जनाए । सो क्रममा उनीहरुले प्रधानमन्त्रीले मनपरी रुपमा पार्टी सञ्चालन गर्न खोजेको भन्दै आपत्ति मात्रै जनाएनन् स्थायी समिति बैठकमा पार्टीको विधि र पद्धतिबारे छलफल भएर निर्णय गरिने बताए । त्यही क्रममा प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री ओलीले आफूलाई एक्लो पारेको भन्दै आफूविरुद्ध षड्यन्त्र भएको महसुश गरेपछि एकाएक बैठकको माहोल बिग्रिएको थियो । 

ओलीविरुद्ध माधव नेपालसहितका नेताहरु आक्रामक रुपमा प्रस्तुत भएपछि प्रधानमन्त्री ओलीले पार्टी विधि र प्रक्रियाअनुरुप चलेको भन्दै पूर्वाग्ररी नबन्न चेतावनी दिएका थिए । 

सुरुमै आलोचित भएपछि आक्रोशित भएका ओलीले आफूले अध्यादेश फिर्ता गरिसकेको भन्दै अब स्थायी समिति बैठकको आवश्यकता नै नरहेको बताए ।

बिहीबारका लागि बोलाइएको स्थायी समिति बैठकको एजेण्डा तय गर्नका लागि बोलाएको बैठकमा ओलीले स्थायी समिति बैठक बोलाउनुको औचित्य नभएको अभिव्यक्ति दिएपछि बैठकमा थप भनाभनको अवस्था सिर्जना भएको थियो । 

‘बैठकमा आफ्नो आलोचना भएपछि प्रधानमन्त्रीज्यू आक्रोशित बन्नुभयो त्यसपछि उहाँले स्थायी समिति बैठकनै आवश्यक नभएको तर्क गर्नुभयो’, एक सचिवालय सदस्यले रातोपाटीसँग भने, ‘त्यसपछि प्रचण्डले उहाँको भनाइमा प्रतिवाद गर्नुभएपछि उहाँ एकाएक बैठकबाट बाहिरिनु भयो ।’

ती सचिवालय सदस्यका अनुसार प्रधानमन्त्री ओलीले बैठककै औचित्य नभएको बताएपछि प्रचण्डले प्रतिवाद गर्दै दुई तिहाई सदस्यले बैठकको माग गरिसकेपछि बोलाउनै पर्ने अडान लिएका थिए । उनले पार्टीमा विधि र पद्धति भन्दामाथि कोही पनि हुन नसक्ने भन्दै एजेण्डा तय गरेर बैठक निर्धारित समयमा हुनुपर्नेमा जोड दिएका थिए । 

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमसहितका नेताहरुले ओलीको अभिव्यक्तिविरुद्ध एकस्वरमा प्रतिवाद गरेपछि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री एकाएक बैठकबाट बाहिरिएको सचिवालयका ती सदस्यको भनाइ छ । 

करिब चार बजेतिर बैठक सुरु भएपछि एक घण्टासम्म ओली बैठक स्थलमा रहँदा अधिकांश समय उनको कार्यशैली र प्रवृत्तिप्रति लक्षित गर्दै आलोचना भएको थियो । बैठकमा भनाभनकै अवस्था आएपछि प्रधानमन्त्री केही केही नबोली बैठकबाट बाहिरिन पुगेका थिए । 

त्यसपछि सचिवालयका अरु ८ सदस्यबीच छलफल भएको थियो । ओली अनुपस्थित भएपछि स्थायी समिति बोलाउनुपर्ने विषयमा छलफल केन्द्रीत भएका थिए । त्यसबीचमा के निर्णय गर्ने भन्नेबारेमा नेताहरुले ओलीलाई झण्डै एक घण्टा कुर्नुपरेको थियो । 

करिब ६ बजेतिर फेरि बैठक हलमा प्रवेश गरेका ओली ‘एक व्यक्ति एक प्रमुख पद’मा आफ्नो सहमति नरहेको भन्दै ‘जे मन लाग्छ त्यही गर्नुस्’ भन्दै जंगिएका थिए । 

उनले फेरि पनि अहिलेको अवस्थामा स्थायी समिति बैठकको औचित्य नै नरहेको भन्दै किन बैठक बोलाउने भन्दै उही पुरानो अडान दोहोर्याएका थिए । 

ओलीले आफ्नौ पुरानो अडान दोहोर्याउँदै आफ्नो आक्रोशलाई कायम राखेको बुझेका नेताहरुले तपाईहरु नै मिलेर बैठकबारे निर्णय गर्नुस् भन्दै प्रचण्ड र ओलीलाई भनेका थिए । 

त्यसपछि अवस्थालाई सहज बनाउँदै प्रचण्डले ओलीसँग थप छलफल गरेर एकदुई दिनभित्रै सहमतिको आधारमा स्थायी समिति बैठक बोलाउने प्रस्ताव गर्न पुगेको ती सचिवालय सदस्यको भनाइ छ ।  सोही प्रस्तावमा अन्य सदस्यहरुले पनि मौन समर्थन गरेपछि बैठक सकिएको घोषणा गरिएको थियो । #रातोपाटी_बाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation