रुपन्देही । सैनामैना नगरपालिकामा नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीयलाई सेवा लिन सहज भएको छ । साविकको पर्ह्रोहा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको नगर अस्पतालमा सेवा सञ्चालन गरेसँगै स्थानीयलाई सहज भएको हो ।
आफ्नै नगरमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा लिन पाउँदा स्थानीयलाई टाढा जानुपर्ने बाध्यता हटेको छ । बिरामी हुँदा टाढा जानुपर्ने बाध्यता हटेपछि समय र पैसा पनि बचत भएको सैनामैना–६ का कृष्णबहादुर विकले बताए । ‘आफ्नै गाउँ नजिकै धेरै सेवा लिन पाउँदा खुसी लागेको छ’, उनले भने, ‘अब बुटवल, भैरहवा पुग्नुपर्ने बाध्यता हट्यो ।’
कम लागतमा सबै खालका सेवा स्थानीय स्तरमा पाएकामा देवसिंह गिरिले खुसी व्यक्त गरे । ‘पहिले उपचार गर्नका लागि टाढा जानुपथ्यो’, उनले भने, ‘उपचार गर्न टाढा जाँदा समय र पैसा धेरै खर्च हुन्थ्यो, अब भने सहज भएको छ ।’
नगर अस्पतालमा बहिरङ्ग (OPD) सेवा, आकस्मिक (Emergency) सेवा, गर्भवती महिलाको नियमित जाँच (ANC), सुरक्षित प्रसूति तथा सुत्केरी सेवा, नवजात तथा बाल स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा, प्रयोगशाला (रगत, पिसाब लगायतका परीक्षण), सामान्य औषधि वितरण (फार्मेसी), मधुमेह, उच्च रक्तचाप लगायत दीर्घरोगको जाँच तथा उपचार लगायत आकस्मिक सेवा सञ्चालन भइरहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थिले जानकारी दिए ।
उनका अनुसार हाल अस्पतालमा तीनजना एमबिबिएस डाक्टरसहित नर्सिङ हेल्थ असिस्टेन्ट, नर्स, अहेव, अनमी, रेडियोग्राफर, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट र नगर एम्बुलेन्ससहितको सेवा सञ्चालनमा रहेको छ ।
नगर अस्पतालमा विशेषज्ञ चिकित्सकसहित १५ शय्याको सेवा सञ्चालन भएपछि बिरामीको चाप बढ्दै गएको नगर अस्पतालका चिकित्सक डा. सुस्मा चौधरिले बताउनुभयो । उहाँका अनुसार दैनिक ५० देखि एक सय जनासम्म बहिरङ्ग (ओपिडी) मा सेवा लिन आउने गरेका छन् ।
नगर अस्पतालमा स्वास्थ्य बिमा पनि छिट्टै सुरु गरिने नगर प्रमुख फणीन्द्र शर्माले बताउनुभयो ।
‘यहाँका जनतालाई सहज स्वास्थ्य सेवा पहुँच पुर्याउने नगरको पहिलो प्राथमिकतामा छ’, उनले भने, ‘नगर अस्पतालबाट सेवा पाउँदा स्थानीयलाई सहज भएको छ ।






