अर्थतन्त्र जोगाउने नाममा गरिन थालिएको खुकुलोपना घातक हुने चेतावनी

कोरोनाको संक्रमण कम हुँदै गएपछि लकडाउन खुकुलो बनाउँदै गएको चीन, जर्मनी र दक्षिण कोरियामा कोरोनाको संक्रमण फेरि बढ्दै गएको छ । यसले लकडाउनलाई खुकुलो बनाउँदै गएका तथा बनाउने तयारी गरिरहेको युरोप, अमेरिका लगायत विश्वभरिकै देशहरुमा कोरोना संक्रमणको नयाँ लहर आउन सक्ने खतराको घण्टी बजाइदिएको छ ।

सबैभन्दा पहिले कोरोनाभाइरस संक्रमण देखापरेको चीनमा कोरोना करिब करिब पूर्णतः निको भएको ठानिएकोमा फेरि नयाँ रोगीहरु देखापर्न थालेका छन् । गत मे ४ मा मात्रै चीनमा कोरोनाका नयाँ १४ रोगीहरु देखापरे जसमध्ये १ जना त त्यो भाइरसको उद्गम मानिएको हुवेई प्रान्तका छन् । यो यसकारण पनि चिन्ताजनक छ कि विगतका केही हप्ताहरुमा चीनमा संक्रमितको संख्या १ अंकमा झरेकोमा अहिले फेरि त्यो २ अंकमा पुगेको छ ।

चीनले जनवरीदेखि मार्चसम्मको कडा लकडाउन, व्यापक परीक्षण, क्वारेन्टाइन, संक्रमितको पहिचान र खोजी तथा स्वास्थ्यकर्मी, कर्मचारी तथा नागरिकहरुमा व्यक्तिगत सुरक्षाका उपकरणहरुको अनिवार्य उपयोग जस्ता उपायहरु अवलम्बन गरेको थियो । सोही कारण चीनमा कोरोनाको संक्रमण करिब करिब नियन्त्रणमा आइसकेको थियो ।

तर कोरोनाभाइरस संक्रमितको संख्या न्यून हुँदै गएपछि (नयाँ संक्रमितको संख्या करिब करिब शून्यमा झरेपछि) चीनले कडाइलाई खुकुलो पार्दै लग्यो । मानिसहरु काममा फर्कन थाले, थुप्र्रै ठाउँका स्कुलहरु खुले, शहरहरुम आगन्तुकहरुलाई स्वागत गरिन थालियो ।

तर त्यसलगत्तै चीनमा संक्रमण बढेर जान थालेको छ । गत सोमबारमात्रै चीनमा संक्रमणका १७ नयाँ केसहरु देखापरे । यो भनेको गत अप्रिल २८ यताको सबैभन्दा उँचो दर हो । यसपछि अहिले चीनमा संक्रमितको संख्या ८२,९१८ पुगेको छ भने त्यसैबाट मृत हुनेहरुको संख्या ४६३३ । यो डरलाग्दो स्थितिको आँकलन गरेरै अहिले चीनले उहानका १ करोड १० लाख सबैजनाको कोरोना परीक्षण गर्ने विशाल योजना अघि सारेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation