वस्तु आयात १३ प्रतिशतले घट्यो, निर्यात ४.५ प्रतिशतले वढ्यो

काठमाडौं ।
आर्थिक वर्ष २०७६/७७ को दश महिनामा कूल वस्तु निर्यात ४.५ प्रतिशतले वृद्धि भई रु ८२ अर्ब छ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १८.९ प्रतिशतले वृद्धि भएको थियो ।यस्तै गन्तव्यका आधारमा भारततर्फ १६.१ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ३८.६ प्रतिशत र १४.६ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, कागज तथा नेपाली कागजका वस्तु, प्लाष्टिकका भाँडा, एमएस पाइप लगायतका वस्तुको निर्यात बढेको छ । यस्तै जस्तापाता, तार, पोलिस्टर यार्न तथा अन्य धागो, ऊनी गलैँचा, जुस लगायत वस्तुको निर्यात घटेको छ ।चालु आवको दश महिनामा कूल वस्तु आयात १३ प्रतिशतले घटेर रु १० खर्ब २५ अर्ब १४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १७.५ प्रतिशत, ७.६ प्रतिशत, र २.९ प्रतिशतले घटेको छ ।वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, कच्चा सोयाबिन तेल, कम्प्युटर तथा पार्टपूर्जा, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, एमएस बिलेट, सुन, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।निर्याततर्फ वीरगञ्ज, विराटनगर र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाह र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयात घटेको छ । चालु आवको दश महिनामा कूल वस्तु व्यापार घाटा १४.२ प्रतिशतले घटी भई रु ९ खर्ब ४३ अर्ब ७ करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा १९.७ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ प्रतिशत पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation