तिलोत्तमा नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । सो अवसरमा प्रदेश सरकार तथा जिल्ला समन्वय समितिको तर्फबाट नगरपालिकालाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

तिलोत्तमाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकमा मुलकमै पहिलो अभ्यास गरी तीमध्ये ४१ वटा सूचक शतप्रतिशत र १० वटा सूचकमा अधिकतम ९९.८८ प्रतिशतसम्म नतिजा हासिल गरेको हो ।

नगरपालिकाले नगरस्तरीय स्थिति प्रतिवेदन तयार गरी बालमैत्री स्थानीय शासन घोषणा पश्चात दिगोपनाको लागि पञ्चवर्षीय रणनीतिक योजनासमेत तयार गरेको छ । २०७६ सालमा पूर्णसरसफाई उन्मुख नगर घोषणा गर्न सफल भएको तिलोत्तमाले कोरोना महामारीको प्रभाव कम भएसँगै नगरलाई बालमैत्री घोषणा गर्न सफल भएको मेयर बासुदेव घिमिरेले बताए ।
घोषणा कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले तिलोत्तमाले भौतिक र मानवीय विकासकालाई सन्तुलन मिलाएर अघि बढेको भन्दै बालमैत्री नगरलाई दिगो बनाउनुपर्ने बताए । उनले तिलोत्तमाले नगरलाई बालमैत्री घोषणा गरेर आफ्नो हैसियत उन्नत बनाएको बताउँदै भौतिक विकाससँगै सामाजिक विकासलाई पनि उत्तिकै महत्व दिनुपर्नेमा जोड दिए ।

प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले तिलोत्तमा नगरपालिकाले ५१ वटा सूचकको अभ्यास गरेर नगरलाई बालमैत्री नगर घोषणा गरेकोमा बधाई दिँदै अन्य पालिकाहरुले पनि यो अभ्यास गर्नुपर्ने बताइन् ।

सहभागीहरुले बालमैत्री नगरलाई दिगो बनाउन आ–आफ्नो ठाउँबाट काम गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।

तिलोत्तमालाई बालमैत्रीयुक्त नगरपालिका बनाउन २०७६ मंसिर २७ गतेदेखि बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गरिएको थियो । १८ वर्षमुनिका झण्डै ४० हजार बालबालिका भएको तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधि आएदेखि नै शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमार्फत् बालबालिका केन्द्रित विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएका थिए । बालमैत्री अभियान सञ्चालन भएयता तिलोत्तमामा २३१ वटा बाल समूह, १८ वटा वडा र नगर बालसमूह सञ्जाल गठन भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation