अझै दुई महिना डेंगु सङ्क्रमणको उच्च जोखिम डेंगुलाई महामारी नै घोषणा गर्ने आधार सृजना भएको छैन डा। गोकर्ण दाहाल

नेपालमा हाल ७५ जिल्लामा ५ हजारभन्दा बढी डेंगुका केस पुष्टि भइसकेका छन् । यसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा देखिएका छन् । काठमाडौँ उपत्यकाका अस्पतालमा डेंगुका बिरामीको चाप बढ्न थालेको छ ।

 

डेंगुको सङ्क्रमण नियन्त्रण, पहिचान र उपचारका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले के गरिरहेको छ ? अझै दुई महिनासम्म सङ्क्रमणको उच्च जोखिम रहने भएकाले कतै डेंगुले महामारीको रूप लिने त होइन ? त्यसका लागि सरकारले कस्तो तयारी तथा योजना बनाइरहेको छ ? डेंगु सङ्क्रमण रोक्नका लागि केन्द्र प्रदेश, स्थानीय तह र स्वयं व्यक्तिले के गर्नुपर्छ ? यिनै विषयमा केन्द्रीत रहेर ईडीसीडीअन्तर्गत किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालसँग रातोपाटीकर्मी माया श्रेष्ठले गरेको कुराकानी :

डेंगु सङ्क्रमितको चाप सबैभन्दा बढी कुन प्रदेश र जिल्लामा छ ?

देशका ७५ वटा जिल्लामा डेंगुका केस देखिएको रिपोर्टिङ भएको छ । हालसम्म ५ हजार २९ वटा केस पुष्टि भएका छन् । केसको लोड बागमती, लुम्बिनी र प्रदेश नम्बर एकका केही जिल्लाहरूमा बढी देखिएको छ । गएको १० महिनायता ललितपुर जिल्लामा मात्रै १८ सय ३२ वटा देखिएको छ । काठमाडौँमा ८८८ वटा केस, मकवानपुरमा ५९८ केस, रुपन्देहीमा ४३९ केस र धादिङमा १११ वटा केस देखिएको छ । बाँकी जिल्लाहरूमा १०० भन्दा कम केसहरू रहेको रिपोर्ट भएको छ ।

अझै दुई महिना सङ्क्रमितको दर बढ्ने आँकलन गरिएको छ । कस्तो अवस्थामा सरुवाजन्य रोगको महामारी घोषणा गर्ने हो । सरकार डेंगु महामारी घोषणा गर्न लागेको हो र ?

देशका विभिन्न स्थानमा डेंगुका बिरामीको चाप बढेको अवस्था छ । डेंगुका बिरामीहरूको रिपोर्टिङ डाटालाई नजिकबाट नियालिरहेका छौँ । यो सिजनमा प्रक्षेपण गर्दा विगतका वर्षहरूको तुलना गर्दा यतिसम्म हुन सक्छ भनेर आँकडालाई अध्ययन गरिरहेका छौँ ।

अघिल्लो वर्षको आँकडाभन्दा केसहरू माथि गएकाले सम्बन्धित निकायहरू बसेर छलफल गरिरहेका छौँ । अघिल्ला अघिल्ला वर्षको डाटाहरूलाई एनालाइसीस गरिरहेका छौँ । त्यसलाई जोडेर प्रक्षेपणका आधारहरू तयार गरिरहेका छौँ । यद्यपि डेंगुको हकमा कति केस भयो भने वा कति वटा थ्रेसहोल्ड पार भयो भने यसलाई महामारी अर्थात् आउट ब्रेक भन्ने बारे उदाहरण हेर्दा कहीँ पनि त्यस्तो देखिँदैन । तर पनि हामीले मापदण्डबारे गृहकार्य गरिरहेका छौँ ।

 

त्यसपछि निश्चित भार नाघ्यो भने त्यसलाई आउट ब्रेक भन्न सक्ने एउटा आधार हुन सक्छ । अहिलेको आँकडाले देशभरि नै महामारी हो भनेर घोषणा गर्नुपर्छ भन्ने कुरालाई सपोर्ट गर्दैन । किनभने हाम्रो जनसङ्ख्या, स्वास्थ्यका उपकरण जनशक्ति जस्ता धेरै कुराले प्रभाव पार्छ ।

त्यसकारण जहाँ केस बढी देखिरहेको छ त्यो ठाउँमा रिपोर्टिङ भएको केसलाई नजिकबाट नियालिरहेका छौँ । केसहरूको ट्रेन्ड कस्तो छ ? रिपोर्टिङको तरिका कस्तो छ ? सात–आठ दिनको एकै दिन रिपोर्टिङ गरेर मात्रै केस बढेको हो कि ? दिनदिनै केस बढेको हो ? रिपोर्टिङको प्याटर्न कस्तो छ ? त्यसपछाडिका धेरै कारणहरू खोजिरहेका छौँ ।

यो सिजन डेंगु बढ्ने सिजन हो । बर्खा पछाडि वा बर्खा सुरु भइसकेपछि डेंगुका बिरामीहरू बढ्छन् भन्ने अनुमान विगतका वर्षहरूबाट थाहा पाउन सक्छौँ । त्यस आधारमा प्रत्येक जिल्लाको विगतका आँकडालाई अहिलेको आँकडासँग लिङ्क गरेर अध्ययन गरिरहेका छौँ ।

२०६१ पछि डेंगुका केस सिस्टममा रेकर्ड छ । प्रत्येक वर्ष डेंगुका बिरामी बढिरहेका छन् । गत्त वर्षभन्दा यस वर्ष केस बढेको पाइएको छ । अझै पनि असोज कार्तिक–महिनासम्म डेंगुको प्रभाव रहिरहन सक्ने पुराना आँकडाहरूले देखाउँछ । त्यसैले अझै दुई महिना जोखिममा छौँ ।

यो पनि
सरकारले डेंगुसँगै चिकुनगुनिया र जिका भाइरसबारे अध्ययन गर्ने
डेंगुका बिरामीले टेकु अस्पतालको शय्या भरियो, प्यासेजमा राखेर उपचार (फोटोफिचर)
डेंगुको सङ्क्रमण दर यसरी ह्वात्तै बढ्नुको कारण के हो?

डेंगु रोग सार्ने माध्यम एडिस जातको प्रजातिको लामखुट्टे हो । त्यस हिसाबले लामखुट्टेको वृद्धि विकासलाई नियन्त्रण गर्न नसक्दासम्म डेंगु रोग लागिरहन्छ । हिमाली जिल्ला, उच्च पहाडी जिल्लाबाट पनि रिपोर्टिङ भएको छ । यद्यपि केसहरूको भार सहर उन्मुख क्षेत्र र सहरी भागमा भएको रिपोर्टिङले देखाउँछ ।

डेंगु सङ्क्रमित बढ्नुमा धेरै कारणहरू छन् । जसमा लामखुट्टेको वृद्धि विकास, व्यक्तिगत तवरबाट पानीको व्यवस्थापन नहुँदा, सही जीवन शैली नहुँदा, घर वरिपरिको वातावरणको व्यवस्थापन गर्ने नहुँदा, सहरीकरण भएअनुसार व्यवस्थापन नहुँदा र मानिसहरूको चलायमान हुने गएकाले केसहरूको बढ्दै गएको हो ।

डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न तथा डेंगुसँग जुध्नका लागि के–के गर्नुभएको छ?

डेंगुको केस सिस्टममा रेकर्ड हुने बित्तिकै त्यसले हामीलाई अलर्ट गराएको हो । त्यस आधारमा कार्यक्रम र क्रियाकलाप सुरुवात गरेका छौँ । पुराना आँकडालाई हेर्दा कार्यस्थलहरूमा स्कुलहरू, काम गर्ने कारखाना, होटलहरुमा डेंगु सार्ने लामखुट्टेको वृद्धि हुने भएकाले जोखिमको आधार हेरेर छलफल गरेका छौँ ।

मनसुन सुरुवात भएपछि तयारी अवस्थामा रहन प्रदेश स्वास्थ्य निर्देशनालयहरू, जिल्ला स्वास्थ्य कार्यालयहरू, केस देखिएका पालिकाका स्वास्थ्य प्रमुखसँग छलफल गरेका थियौँ । जुनजुन जिल्लामा केस बढी देखिएको छ त्यहाँ पनि जनप्रतिनिधिहरुसँग छलफल गरेर पालिकाको स्वास्थ्य हेर्ने सबै व्यक्ति र स्वयंसेविकालाई परिचालन गर्ने कार्य सक्रिय रूपमा काम भइरहेको छ ।

फलस्वरूप अहिले काठमाडौँ, भक्तपुर, ललितपुर लगाएका धेरै जिल्ला र वडामा जनप्रतिनिधि सँगसँगै टोल विकास समिति, स्वास्थ्य स्वयंसेविका मिलेर डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज्ने, त्यसलाई नष्ट गर्ने, समाज परिवार, व्यक्तिमा सचेतना फैलाउने काम भइरहेको छ ।

 

यस्तै, अस्पतालमा डेंगु सङ्क्रमण भई कस्ता लक्षण भएका बिरामी भर्ना गर्नु परेको छ भनेर पनि अध्ययन गरिरहेका छौँ । अस्पतालहरूबाट सल्लाह रायहरू लिइरहेका छौँ । त्यस सन्दर्भमा जहाँ केस बढी देखिएको छ, त्यहाँका स्वास्थ्यसम्बन्धी फोकल प्रर्सनहरुलाई पनि सञ्चार भइरहेको छ ।

डेंगु सङ्क्रमण दर बढिरहँदा भावी दिन यससँग जुध्नका लागि सरकारको तयारी र प्रक्षेपण के छ?

अझै हामी डेंगुको जोखिम छौँ । अझै आउने दुई महिना सङ्क्रमितको दर बढ्छ भन्ने छ । बढ्ने घट्ने प्रत्यक्ष सम्बन्ध वातावरणसँग हुन्छ । पानी पर्नेदेखि लिएर विभिन्न तत्त्वहरू यो सँग जोडिएका हुन्छ । काठमाडौँ उपत्यकाका स्वास्थ्य संयोजक, नगर प्रमुखसँग बसेर केस अझै बढ्न सक्छ भनेर छलफल गरिरहेका छौँ । डेंगु सङ्क्रमण नियन्त्रण, पहिचान र उपचारका लागि काम भइरहेका छन् । केसहरू थपिन सक्ने जोखिम भएकाले कसरी अगाडि बढ्ने र रोकथाम र नियन्त्रण गर्ने भनेर छलफलको योजना बनाएका छौँ ।

डेंगुका विभिन्न शेरोटाइप हुन्छन् । कुन शेरोटाइप हो अर्थात् डेंगु भाइरसमा कुन प्रजाति बढी सक्रिय छ भनेर शेरोटाइपिङ कुराहरू गरिरहेका छौँ । धेरै केस देखिएका जिल्लामा लामखुट्टेको सक्रियता कस्तो छ । हामीले देख्ने धेरै लामखुट्टे हुन्छन् त्यसमध्ये एडिस जातको लामखुट्टेले मात्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्छ । त्यसैले एडिसजातको लामखुट्टेको सक्रियताका बारेमा सर्भेलेन्स गछौँ ।

एडिस जातका लामखुट्टेले हामीले भन्ने गरेको भन्दा फरक ठाउँहरूमा आफ्नो वृद्धि र विकास, बानी परिवर्तन गरेको छ कि ? टायरमा जमेको पानीमा, सफा पानीमा, घरका गमला, फूलदानीको पानीमा, एसी,कुलर लगायतका पानीमा बढी अण्डा पार्नुका साथै आफ्नो सन्तान उत्पादन गर्छ । त्योभन्दा बाहेक अन्य कुनै ठाउँहरू पनि त्यसले वृद्धि र विकास गरेको हुन सक्छ । त्यसको आनीबानीका कुराहरू पनि पत्ता लगाउने हिसाबले सर्भेलेन्स गर्ने भएका छौँ ।

अस्पतालहरूसँग निरन्तर पनि छलफल गरिरहेका छौँ । केसहरू बढ्दै जाँदा बिरामी बढ्दै जान्छन् । यद्यपि २० देखि २५ प्रतिशतलाई डेंगुको सामान्य लक्षण देखिन्छ । लक्षण देखिएका बिरामी मध्ये न्यून सङ्ख्यामा मात्रै अस्पताल भर्ना हुने गर्छन् । अस्पतालमा भर्ना हुने बिरामीको जटिलता, अवस्था कस्तो छ भनेर नजिकबाट हेरिरहेका छौँ ।

डेंगुको सङ्क्रमणबाट बाच्नका लागि व्यक्तिगत तवरबाट कस्ता विधिहरू अपनाउने ?

डेंगु रोगलाई रोकथामलाई रोकथाम गर्नका लागि खास गरी व्यक्तिबाट सुरुवात गर्नुपर्छ । व्यक्तिले घर मात्रै नभएर काम गर्ने क्षेत्रसम्म लामखुट्टेको वृद्धि र विकास हुने क्षेत्र अर्थात् लामखुट्टेले अण्डा पार्न सक्ने, सफा पानीमा लामखुट्टे बस्ने भएकाले दिउँसोको समय बढी सक्रिय हुने भएकाले त्यसको समयमा अझ बढी लामखुट्टेले टोक्ने भएकाले त्यसबेला सजक रहनुपर्छ ।

लामखुट्टे वृद्धि र विकास हुने ठाउँहरूमा व्यवस्थापन गर्ने कार्य गर्न सुरुवात गर्‍यौँ भने परिवार समुदाय र देशभर नै नियन्त्रण गर्न सकिन्छ । डेंगुका विषयमा पैरवी गर्न स्थानीय सरकार लगातार लागिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आवश्यकताका आधारमा स्थानीय तहहरूलाई प्राविधिक रूपमा सहयोग गर्ने, तीन तहका सरकार मिलेर रोकथाम र नियन्त्रणका लागि परेका छौँ ।

डेंगुको लक्षण देखिएर अस्पताल पुग्नेहरुले परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने गरेको चिकित्सकहरूले बताउँदै आएका छन् । कतै डेंगुसँग अन्य भाइरसको पनि सङ्क्रमण भएको त छैन भन्ने शंका गर्न थालिएको छ । यस विषयमा ईडीसीडीले ध्यान पुगेको छ कि छैन?

निरन्तर चिकित्सकहरूसँग परामर्शमा छौँ । पछिल्लो दिनहरूमा डेंगु सँगसँगै अरू भाइरसजन्य रोगहरू पनि मिसिएको अर्थात् मिक्स्ड इन्फेक्सन भएको भन्ने कुरा उहाँहरूबाट प्रारम्भिक जानकारी आएको छ । त्यही आधारमा शेरोटाइपिङको अध्ययन अनुसन्धान गर्दा जसमा डेंगुको लक्षण देखिएर जाँच गर्दा नेगेटिभ देखिएको छ ती नमुनाहरूमा जस्तै, चिकुनगुनिया र जिकाको पनि सँगसँगै जाँच गर्ने भएका तयारी गरेका छौँ । डेंगु जाँच गर्न पठाएका नमुनामा सँगै चिकुनगुनिया र जिका भाइरसको परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग छलफल गरेका छौँ । त्यस अध्ययन अनुसन्धानले पनि धेरै सहज बनाउँछ ।

डेंगुको लक्षण देखिनासाथ आफै लक्षणका आधारमा मेडिकलबाट औषधि ल्याएर खाने प्रवृत्ति बढेको छ । के यसरी लक्षणका आधारमा औषधि खान हुन्छ?

डेंगुको लक्षण देखिँदैमा आफै लक्षणका आधारमा औषधि पसलमा गएर टाउको दुखेको ज्वरो आएको भनेर दुखाइ कम गर्ने नाममा औषधि प्रयोग हुँदैन । किनभने सामान्य डेंगुलाई पनि औषधिहरूको अव्यवस्थित प्रयोगले स्वास्थ्य अवस्थालाई जटिलता तिर लैजान सक्छ । त्यसैले स्वास्थ्यकर्मीसँग परार्मश लिए मात्रै औषधि प्रयोग गर्नुपर्छ । डेंगुलाई घरमै बसेर स्वास्थ्यकर्मीको परामर्शका आधार खाएको औषधिले सजिलै निको पार्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation