
बुटवल असोज २३। बुटवल उद्योग बाणिज्य संघको भर्खरै सम्पन्न निर्वाचनमा हरि प्रसाद अर्यालको प्यानल बिजयी भएको छ।
रुपन्देहीकै सबैभन्दा जेठो व्यवसायीक संस्थाको रुपमा रहेको बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि हरि प्रसाद अर्याल र दिनेश प्रसाद श्रेष्ठले अलग अलग प्यानल बनाएर निर्वाचनमा होमिएका थिए।
संघको २५ औं अधिवेशनबाट नया नेतृत्वको चयनका लागि सोमवार भएको मतदानमा संघमा आवद्ध १७७८ मतदाता मध्ये १५०६ मत खसेको थियो।
संघको अध्यक्षमा अर्याल संगै उद्योग उपाध्यक्षमा सुरज भटराई महासचिवमा मुक्ती अधिकारी, कोषाध्यक्षमा बसन्त ढकाल बिजयी भएका छन् भने सह सचिवमा धन कुमारी खनाल सविता बिजयी भएकी छन्। निर्वाचित सबै अर्याल प्यानलका हुन्।
सचिव पदमा भने श्रेष्ठ प्यानलका प्रतिक पोखरेल बिजयी भएका छन्। पोखरेलले अर्याल प्यानलका भेषराज गैरेलाई पराजित गरे। संघको बरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे र बाणिज्य उपाध्यक्षमा बिमलराज भटराई निर्विरोध निर्वाचित भैसकेका छन्।
अध्यक्षमा बिजयी हरि अर्यालले ७७६ मत पाए भने उनका प्रतिस्पर्धी दिनेश श्रेष्ठले ६८९ मत पाए। त्यसैगरी उद्योग उपाध्यक्ष पदमा उम्मेदवार बनेका अर्याल प्यानलका सुरज भटराईले ७७८ मत पाएर बिजयी हुंदा दिनेश श्रेष्ठ प्यानलका नविन श्रेष्ठले ६७२ मत पाए त्यसैगरी अर्याल प्यानलका मुक्ती अधिकारी ७६० मत पाएर महासचिव पदमा बिजयी हुंदा श्रेष्ठ प्यानलका बावुराम बिश्वकर्मा ६९८ मत पाए।
त्यसैगरी कोषाध्यक्ष पदमा अर्याल प्यानलकै बसन्त ढकालले ८०९ मत पाएर बिजयी हुंदा श्रेष्ठ प्यानलका प्रकाश कुमार श्रेष्ठले ६४४ मत पाए। सचिव पदमा भने श्रेष्ठ प्यानलका प्रतिक पोखरेलले ७२३ मत पाएर बिजयी हुंदा अर्याल प्यानलका भेषराज गैरेले ७०७ मत पाए। सह कोषाध्यक्ष पदमा अर्याल प्यानलकी धनाकुमारी खनाल(सविता)ले ८३० मत पाएर बिजयी हुंदा श्रेष्ठ प्यानलका जाकीर हुसेनले ६३३ मतमा चित्त बुझाउनु पर्यो।
अध्यक्ष बिजयी अर्याल २०७७ सालको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवार बनेर उज्ज्वल कसजुसंग झिनो मतले पराजित भएका थिए।
अर्याल स्टेशनरी व्यवसायी हुन्। पुस्तक तथा स्टेशनरी व्यवसायी संघको केन्द्रीय अध्यक्ष भएर जिम्मेवारी निर्वाह गरि सकेका छन्।
२०७१ सालमा महासचिव बनेका अर्याल २०७४ सालमा वाणिज्य उपाध्यक्ष निर्वाचित भएका थिए। बुटवललाई गुन्जार र चलायमान बनाउने स्पष्ट योजनाका साथ आफु अगाडी बढने अर्यालले बताए।