एमालेको यात्रा विथोल्न खोजेको आरोपमा गोपाल किराँतीसहित १० जना पक्राउ

२५ मंसिर, विराटनगर । नेकपा एमालेको संकल्प यात्रा रोक्न खोजेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्ने घोषणापछि सडकमा उत्रिएका पूर्व मन्त्री गोपाल किराँतीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बाटो अवरोध गर्न खोज्ने गोपाल किरातीसहित १० जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको बताए ।

‘बाटोमा रुख ढाल्ने, ढुंगा हान्ने जस्ता गतिविधि गरेर आतंक फैलाउने काम भएपछि यसको नेतृत्व गर्नुभएका किरातीलाई नियन्त्रणमा लिएका हौं’, डीआईजी बाँस्तोलाले  भने, ‘उहाँकै सुरक्षाका लागि पनि नियन्त्रणमा लिनुपर्ने भयो ।’

 

किराँतीलाई खोटाङको हलेसीबाट प्रहरीले पक्राउ गरेको हो । एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत संकल्प यात्रालाई रोक्न भन्दै पहिचान पक्षधरले पहाडी जिल्लामा बन्द आह्वान गरेका थिए ।

कोशी प्रदेशको पुननामाङ्कनको माग गर्दै संघर्षमा उत्रिएको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले संकल्प यात्रालाई प्रदेशमा प्रवेश गर्न नदिने घोषणा गरेको थियो । सोही घोषाण अनुसार पहाडी जिल्लामा बन्द आह्वान गरेको छ । आन्दोलनकारीले एमालेको यात्रा रोक्नका लागि मध्यपहाडी लोकमार्गको ठाउँ–ठाउँमा रूख ढालेर अवरोध गरेका छन् ।

बन्द भए पनि नेकपा एमालेको संकल्प यात्राको टोली उदयपुर आउनेक्रममा रहेको एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले बताए ।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरू सहभागि छन् । प्रदेशको नाम नमान्ने घोषणा गरेको पहिचान पक्षधरले कोशीको पक्षमा बोल्ने एमाले नेतालाई निषेध गर्दे बताउँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation