
काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा एयरलाइन्स र अध्यागमनकै अधिकारी संलग्न रहेको खुलासा भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपितहरुलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।
प्रहरीले हिजो मँगलबार र आज बुधबार ४ जनालाई पक्राउ गरेपछि भिजिट भिसाका नाममा भइरहेको ‘मानव तस्करी’ को सेटिङको रहस्य बाहिर सार्वजनिक भएको हो । अध्यागमन विभागका अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका अधिकृत अर्विन यादव, नेवानीकै अर्का कर्मचारी होम पोखरेल र एजेन्ट पदम लामालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले ट्राभल एजेन्टको मिलेमतोमा विदेश जान चाहनेहरूलाई नक्कली सर्टिफिकेट, बैंक स्टेटमेन्ट, प्रहरी रिपोर्ट र नक्कली भिसा बनाइदिने गरेका थिए ।