
बुटवल । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै जारी आन्दोलनमा उद्योगी तथा व्यवसायीहरु संगठिन हुने क्रम जारी रहेको छ । यसैबीच रुपन्देही उद्योग संघले आन्दोलनमा ऐक्यवद्धता जनाउँदै आवश्यक परे उद्योगीहरुसहित सम्पूर्ण मजदुर, कर्मचारी तथा जनतालाई सडकमा उतार्ने चेतावनी दिएको छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुनुपर्ने माग राख्दै सिद्धार्थ सञ्जाल, रुपन्देहीको नेतृत्वमा दबाबमुलक आन्दोलन जारी रहेको छ ।
आन्दोलनका कार्यक्रम अन्तरगत आइतबारदेखि विमानस्थल प्रवेशद्वार अगाडि धर्ना दिने कार्यक्रम जारी रहेको छ ।
बुधबार रुपन्देही उद्योग संघले समेत उपस्थिती जनाउँदै आन्दोलनप्रति ऐक्यवद्धता जनाएको हो । संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले गौतमबुद्ध विमानस्थल लुम्बिनी प्रदेशको गौरव भएपनि नियमित सञ्चालन नहुनु दुःखद रहेको उल्लेख गरे । ‘एअरपोर्ट चलाउन पाइँदैन भनेर विरोध गरेका होइनौं ऋण लिएर बनाएको एअरपोर्ट चलाउनुपर्छ भनेर कराउनुपरेको छ । अब सशक्त आन्दोलन गर्नुपर्छ ।’उनले भने । आन्दोलनमा रुपन्देही उद्योगसंघसहित बुटवलका संघ संस्थाहरुको साथ र सहयोग रहने पराजुलीले बताए ।
संघका पूर्वअध्यक्ष बाबुराम बोहोराले सरकार सञ्चालन गर्ने निकायमा बस्ने व्यक्तिहरुको कमजोरी र लाचारीपनका कारण विमानस्थल सञ्चालन हुन नसकेको बताए । उनले सबै कुरा राज्य सञ्चालन गर्ने व्यक्तिहरुको हातमा रहेको बताए । पूर्वअध्यक्ष बोहोराले विमानस्थल सञ्चालनका लागि भिषा सेन्टर, श्रम स्वीकृति लगायतका संरचना बनाउन आग्रह गरे ।
उनले सिद्धार्थ सञ्जाल, रुपन्देहीले नेतृत्व गरेको आन्दोलनमा सम्पूर्ण नागरिक सडकमा उत्रिनुपर्ने बताए । उनले भने, ‘यो आन्दोलन लामो हुने वाला छ । आवश्यक परे उद्योगीसँगै उद्योगमा कार्यरत मजदूरहरुको पनि आन्दोलनमा सहभागीता हुन्छ ।’