तुलसीपुरमा कक्षा १२ को परीक्षा ः ग्रुप म्यासेन्जरमै आउँछ प्रश्नको उत्तर

दाङ । तुलसीपुर उपमहानगरले आजदेखि सुरू भएको कक्षा १२ को परीक्षा अनुगमन गरेको छ । मेयर टिकाराम खड्काको नेतृत्वमा शिक्षा शाखाले अनुगमन गरेको हो ।

 

अनुगमनका क्रममा परीक्षा निकै लापरबाही तरिकाले सञ्चालन भएको पाइएको शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार परीक्षा केन्द्रमा परीक्षार्थीले मोबाइल लगेको र फेसबुक म्यासेन्जर ग्रुपमा प्रश्न पत्र पठाएर उत्तर समेत राखिएको पाइएको छ । उक्त ग्रुपमा आएको जवाफ परीक्षार्थीले उत्तर पुस्तिकामा सहजै सारेका छन् । अनुगमन क्रममा उपमहानगरले सबैभन्दा धेरै मोबाइल राप्ती बबई क्याम्पस केन्द्रबाट बरामद गरेको छ । त्यहाँ गोरखा माविका विद्यार्थीले परीक्षा दिइरहेका छन् ।

सो माविका विद्यार्थीबाट अनुगमन टोलीले १ सय २८ थान मोबाइल बरामद गरेको छ । हिमाल एकेडेमी केन्द्रबाट २१ थान मोबाइल फेला पारेको छ । हिमालमा तुलसी आवासीय मावि,महेन्द्र मावि,पशुपति मावि र सहिद स्मृति मावि सहित चार विद्यालयका विद्यार्थीले परीक्षा दिइरहेका छन् । चारै विद्यालयका विद्यार्थीलाई छुट्टाछुट्टै म्यासेन्जरमा प्रश्नका उत्तर पठाइएको पाइएको छ । चार विद्यालयका विद्यार्थी मध्य तुलसी आवासीय माविका विद्यार्थीबाट धेरै मोबाइल बरामद गरिएको छ ।

त्यसै गरी लिटिल हेबन केन्द्र परीक्षा दिइरहेका अरनिको माविका विद्यार्थीबाट १ सय भन्दा बढी मोबाइल बरामद गरिएको छ ।

त्यसै गरी मावि सेन्टर केन्द्रबाट ४ थान मोबाइल फेला पारिएको अनुगमन टोलीले जानकारी दिएको छ । ग्रुप म्यासेन्जरमा प्रश्न पत्र राख्ने र प्रश्नको हल गर्नेलाई कारबाही गर्न सिफारिस गरिने शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणि चौधरीले बताए ।

आज अंग्रेजी विषयको परीक्षा थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation