अध्यक्ष मेनेजरहरुको ४६ औं भेला तथा पूर्व पदाधिकारीहरुलाई सम्मान

१४ जेठ,सैनामैना। सैनामैना नगरपालिका स्थानीय विकास कोषको आयोजनामा अध्यक्ष मेनेजरहरुको ४६ औं भेला तथा स्थानीय बिकास कोष सञ्चालक समितिका पूर्व पदाधिकारीहरुलाई सम्मान गरिएको छ । आईतबार आयोजित भेला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले स्थानीय बिकास कोषको कार्यक्रममार्फत स– साना उद्यमीहरु, कृषकहरु, व्यवसायीहरु स–सानो पुँजीबाट आत्मनिर्भर बन्न सफल भएको बताउनु भयो ।
कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले आत्मनिर्भर हुने खालका कार्यक्रम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले महिला दिदी बहिनीहरुमा सचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिदै हामी सचेत भयौं भने हाम्रो घर परिवार समाजमा त्यसको सकारात्मक प्रभाव पर्ने र सचेतीकरणमा ठूलो सहयोग पुग्ने बताउनु भयो ।

त्यस अवसरमा स्थानीय विकास कोषका पूर्व पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पूर्व अध्यक्ष जिबाखर चापागाई, उपाध्यक्ष चन्द्रमाया खत्री र सदस्यहरुमा परशुराम सापकोटा, अजिता पाण्डे, प्रेमप्रसाद घिमिरे, दुलबहादुर थारु र मुना बिक तथा ऋण परिचालन समिति संयोजक चन्द्रमणि घिमिरे हुनुहुन्थ्यो । त्यसैगरी स्थानीय विकास कोषको ऋणबाट व्यवसाय गरी आयआर्जन गर्न सफल सैनामैना १ तिनाउ सामुदायिक संस्थाकी मेनेजर मैया लम्साललाई पनि सम्मान गरिएको छ ।

स्थानीय विकास कोष प्रमुख लक्ष्मी खनालको संचालनमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मिना बस्यालले गर्नुभएको थियो । कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, नगर कार्यपालिका सदस्य सुरज बराल, परशुराम सापकोटा र मैया लम्सालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation