
भैरहवा, साउन ११ । नेकपा (माओवादी केन्द्र) को साहायक संगठन योङ कम्युनिस्ट लिग वाइसियल नेपाल रुपन्देहीले रासायनिक मलको आपुर्ति सहज बनाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत संघीय सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
आइतबार वाइसियल रुपन्देहीको टोलीले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमार्फत वाइसिएलले सरकारको ढिलासुस्ती, कालाबजारी, पहुँचको आधारमा हुने असमान वितरण र दलाली प्रवृत्तिविरुद्ध कडा आपत्ति जनाएको छ । संगठनले रासायनिक मलको अभावले राष्ट्रिय खाद्य सुरक्षामै खतरा उत्पन्न गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष गोविन्द खरेलले बताए ।
ज्ञापनपत्रमा भनिएको छ “सरकारको लापरवाही, दलाल र विचौलियाको चलखेल तथा योजनाबद्ध मल अभावले कृषकहरूलाई खेती गर्नबाट बञ्चित बनाएको छ । खाद्य सुरक्षामाथिको प्रहार हामी सहन सक्दैनौं ।” वाइसिएलले तत्काल मल आपूर्ति सुनिश्चित गर्न, वितरण प्रणाली न्यायोचित बनाउन र दीर्घकालीन समाधानका लागि ठोस नीति ल्याउन सरकारसँग माग गरेको छ । संगठनले तत्काल देशभर मल आपूर्ति सुनिश्चित नगरिए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।