रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० सालझण्डीमा रहेको पशुपति माध्यमिक विद्यालयको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस शनिवार सम्पन्न भएको छ । प्राविधिक शिक्षा आजको आवश्यकता, सिप सिकौ दक्ष नागरिक बनौं नाराका साथ भएको बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख बिष्णुप्रसाद पन्थीले पशुपति माध्यमिक विद्यालयले पछिल्लोसमय नतिजा उन्मुख अध्ययनलाई प्राथमिकता दिएको बताउँदै आगामी दिनमा पनि विद्यालयले प्राविधिक शिक्षातर्फको धारलाई अझै प्राथमिकता देओस भन्ने शुभकामना दिनुभयो ।
बार्षिक उत्सव तथा अभिभावक दिवसको कार्यक्रममा शुभकामना दिदै सैनामैना नगरपालिका वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे, पशुपति माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भीमप्रसाद घिमिरे, सामुदायिक बनको प्रतिनिधित्व गर्दै चुडाबहादुर थापा लगायतले बोल्दै विद्यालयले पछिल्लोसमय ल्याएको उत्कृष्ट नतिजालाई आगामी दिनमा अझै स्तरीय बनाउन ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद थापाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सहायक प्रधानाध्यापक केदारनाथ सापकोटाले स्वागत गर्नुभएको थियो ।
बार्षिक उत्सवको अवसरमा एसइई परिक्षा २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई समेत पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी विद्यार्थीहरुले फुड फेस्टिबल समेत आयोजना गरेका थिए । त्यसैगरी विद्यालय गान विमोचन समेत गरिएको छ । विद्यालय गानको रचनाकार सहायक प्रधानाध्यापक केदार सापकोटा हुनुहुन्छ भने स्वर शिक्षक पिन्की थापा र विद्यार्थी मिलन बलाल र हिमा परियारको रहेको छ । दिवसकै अवसरमा इलेक्ट्रिकल इञ्जिनियरिङ एण्ड साईन्स एक्स्पो २०८२ समेत भएको थियो ।











