सैनामैना, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन परिचालन समिति रुपन्देही क्षेत्र नंं २ अन्तरगत सैनामैना नगरपालिका वडा नंं ४ को सम्पर्क कार्यालय शुक्रबार उदघाटन भएको छ ।
रुपन्देही क्षेत्र नंं २ का रास्वपाका प्रतिनिधि सभाका उमेदवार सुलभ खरेल र समानुपातिक उमेदवार मञ्जु भुसालले एक समारोहका बीच सम्पर्क कार्यालयको उदघाटन गर्नुभएको हो ।
त्यस अवसरमा बोल्दै रास्वपाकी समानुपातिक उम्मेदवार मञ्जु भुसालले परम्परागत पार्टीकै कारण गत भदौ २३ र २४ गतेको कहालीलाग्दो दिन आएको बताउँदै अव त्यस्तो दिन कहिल्यै नआओस भन्दै देशलाई स्थायित्व दिनका लागि यो चुनाव हुन लागेकोले चुनाव सफल बनाउन आग्रह गर्नुभयो ।
त्यसैगरी रास्वपाको तर्फबाट रुपन्देही क्षेत्र नंं २ का प्रतिनिधि सभाका उम्मेदवार सुलभ खरेलले यस क्षेत्रको समस्यादेखि राष्ट्रिय समाधानमा आफ्नो ध्यान जाने बताउनु भयो । उहाँले खासगरि कानुनमा भएका कमी कमजोरीलाई अन्त्य गर्दै देशलाई विकासको गतिमा लैजाने प्रतिवद्धता जनाउनुभयो । उहाँले अब देशले बालेन जस्तो निष्ठावान ब्यक्तिलाई प्रधानमन्त्रीको रुपमा पाउने भएकोले रास्वपालाई बिजयी बनाउनुपर्नेमा जोड दिनुभयो ।
रास्वपा सैनामैना ४ का सभापति लालबहादुर रावलको अध्यक्षतामा भएको सम्पर्क कार्यालय उदघाटन कार्यक्रमको स्वागत उपसभापति सरस्वती पाण्डेले गर्नुभएको थियो । सोही अवसरमा विभिन्न पार्टी परित्याग गरि रास्वपा प्रवेश गरेकाहरुलाई स्वागत गरिएको थियो ।
त्यसैगरी रास्वपा निर्वाचन परिचालन समिति सैनामैना ३ को सम्पर्क कार्यालयको समेत शुक्रबार नै उदघाटन गरिएको छ । रास्वपा सैनामैना ३ वडा समितिका सभापति भक्तबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपसभापति रमा पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभाका उमेदवार सुलभ खरेल र समानुपातिक उमेदवार मञ्जु भुसालले मन्तब्य ब्यक्त गर्दै देशको नेतृत्व गर्ने अवसर रास्वपाले पाउने बताउनु भएको थियो । कार्यक्रममा रास्वपा नेता चित्रवहादुर कार्की, रास्वपाका सैनामैना सभापति राजबहादुर क्षेत्री लगायत नेताहरुको उपस्थिति रहेको थियो ।










