राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सुनचाँदी व्यवसायीसँग अन्तरसंवाद

बुटवल, फागुन १० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही क्षेत्र नं. २ ले प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै बुटवलमा सुनचाँदी व्यवसायीहरूसँग अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी स्वरूप आयोजित कार्यक्रममा व्यवसायीहरूले भोग्दै आएका समस्या र नीतिगत सुधारका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुलभ खरेलले पुराना राजनीतिक दलहरूबाट अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै नयाँ शक्तिलाई अवसर दिनुपर्ने धारणा राख्नुभयो । उहाँले विगतका नीतिहरू असफल भएको दाबी गर्दै जनमुखी र व्यवसायीमैत्री नीति निर्माणमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । देश अस्थिरता र भ्रष्टाचारको जालोमा फसेको आरोप लगाउँदै उहाँले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

यसैगरी, समानुपातिक तर्फकी उम्मेदवार अमृता वि.कले देश अहिले जटिल मोडमा रहेको उल्लेख गर्दै यसको निकास रास्वपाले दिन सक्ने दाबी गर्नुभयो । उहाँले आगामी निर्वाचनलाई “भाग्य बदल्ने अवसर” को रूपमा व्याख्या गर्दै मतदातालाई सही निर्णय लिन आग्रह गर्नुभयो ।
पार्टीका नेता लोकबहादुर नेपालीले देशमा बढ्दो महँगी र भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै आर्थिक स्थायित्व र व्यवसायी संरक्षणका लागि स्पष्ट नीति आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी सुनचाँदी व्यवसायीहरूले राज्यले लगाउँदै आएको सुनचाँदी तथा हिरा जडित गरगहनामा लाग्ने विलासिता कर हटाउन माग गरेका थिए । उनीहरूले व्यवसाय सञ्चालनमा विभिन्न प्रशासनिक र कर सम्बन्धी जटिलताले समस्या सिर्जना गरेको उल्लेख गर्दै आगामी सरकारले व्यवसायीमैत्री वातावरण निर्माण गर्नुपर्ने धारणा राखेका छन् ।

अन्तरसंवाद कार्यक्रममा उठेका सुझावहरूलाई टिर्पोट गरिएका र उक्त सुझावहरुलाई आफ्नो नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिने उम्मेदवारहरुले प्रतिबद्धता जनाएकाछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation