सैनामैनामा सडक खाना महोत्सव

रमेश गैरे
सैनामैना १२ चैत्र । आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन सैनामैनाका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८२ आयोजना गरेका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ सैनामैनाको आयोजनामा तीन दिने सडक खाना महोत्सव–सुरु हुने भएको हो ।

पूर्वपश्चिम राजमार्गको छेवैमा मुर्गिया बजार चोक लुम्बिनी रोडमा पाँच सय मिटर सडक दूरीमा महोत्सव आयोजना गरिने भएको छ । विभिन्न थरिका परिकारको स्वाद एकै ठाउँमा दिन महोत्सव आयोजना गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ सैनामैनाका अध्यक्ष माया खत्री क्षेत्रीले जनाउनु भएको छ ।

पूर्वपश्चिम राजमार्ग र लुम्बिनी रोडको सङ्गममै सुरु गरिने महोत्सवले सैनामैनाको परिचय विस्तार, यहाँको पर्यटन पूर्वाधारबारे चासो र स्थानीय रैथाने परिकारबारे अभिरुचि बढाउन सहयोग पुग्ने आयोजक संस्थाको अपेक्षा छ ।

‘मुख्य कुरा हाम्रा स्थानीय सम्भावनाबारे आम चासो बढाउने हो, सैनामैना नगर क्षेत्रभित्रका पर्यटकीय सम्भावनाका क्षेत्रबारे खोजबिन गर्न महोत्सवले सघाउ पुर्‍याउने हाम्रो विश्वास छ’, सङ्घका अध्यक्ष माया खत्री क्षेत्रीले भन्न्नुभयो, ‘महोत्सवमा हामीले पस्कने परिकार, तिनको मौलिक स्वाद र हाम्रो सेवाले खानपिन र बसोबासका लागि सैनामैना उपयुक्त ठाउँ हो भन्ने सन्देश दिनसके हाम्रो अभिष्ट पूरा हुन्छ ।’
महोत्सवमा सिद्रा, घोङी, माछाको सुकुटी, सिस्नु, टिम्बुर, गुन्द्रुक, तामा, गेडागुडीलगायतका स्थानीय परिकार, जिलेवी, विभिन्न मिष्टान्न परिकार, नेवारी खाजा सेट र अन्य जातजातिका लोकप्रिय परिकारका स्टल राखिने भएको छ । २०८२ चैत्र २९, ३० र बैशाख १ गतेसम्म चल्ने महोत्सवमा व्यवसायीमात्र नभएर यहाँका शिक्षालयहरुले होटल म्यानेजमेन्ट तथा फुड विषयका विद्यार्थी, माध्यमिक विद्यालय सैनामैनाका होटल व्यवस्थापन विषयका छात्रछात्राले छुट्टाछुट्टै कक्ष सञ्चालन गर्दै महोत्सव अवलोकनकर्तालाई नयाँ स्वाद चखाउने छन् ।
महोत्सवमा ३० कक्ष रहने छन् । प्रत्येक कक्षले भिन्नभिन्न परिकार तयार गर्ने हुँदा कक्षपिच्छे अवलोकनकर्ताले भिन्न परिकार हेर्ने र चाख्ने अवसर पाउने छन् । महोत्सवमा आन्तरिक र बाह्य पर्यटकले मधेसको पहिचान, स्वाद र न्यानो स्वागतको अनुभूति लिने सङ्घले जनाएको छ ।
आज सैनामैनामा क्रियासिल पत्रकार तथा सरोकारवालाहरु संग भएको अन्तरकृया कार्यक्रममा गौतमबुद्द प्रेस क्लबका अध्यक्ष नवीन घिमिरे, गोबिन्द खरेल, ढुन्डिराज न्यौपाने, सुवास क्षेत्री, बिस्णु सापकोटा, प्रेस सल्लाहकार कृष्ण भण्डारी लगाएतको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation