सैनामैनामा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइँयो

 

सैनामैना । जातीय विभेद तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा सैनामैना दलित उत्थान समितिको आयोजना, सैनामैना सुनचाँदी व्यवसायी संघ र सैनामैना कपडा तथा सिलाइ व्यवसायी समितिको सह–आयोजना तथा सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा बुधबार सैनामैनाको मुर्गियामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

समितिका अध्यक्ष अनिल पहाडीको अध्यक्षता तथा सैनामैना नगरपालिकाका नगर प्रमुख फडेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, सामाजिक अगुवा तथा दलित समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख शर्माले जातीय विभेद र छुवाछूत अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नभएको उल्लेख गर्दै समाजमा व्यवहारिक परिवर्तन आवश्यक रहेको बताए। उनले विभेद अन्त्यका लागि सहभोज, अन्तरघुलन, सामाजिक एकता तथा शिक्षाको विस्तार आवश्यक रहेको धारणा राखे।

“सबै नागरिक समान हुन् भन्ने भावना व्यवहारमा उतार्न सके मात्र विभेदरहित समाज निर्माण सम्भव हुन्छ,” उनले भने।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक प्रल्हाद केसीले जातीय विभेद तथा छुवाछूत नेपालको संविधान र कानुनले निषेध गरेको गम्भीर सामाजिक अपराध भएको बताए। उनले जातीय आधारमा गरिने कुनै पनि प्रकारको विभेद, बहिष्कार, अपमान वा छुवाछूतका घटनामा प्रहरीले कानुनअनुसार अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने स्पष्ट पारे।

उनले यस्ता घटनाको जानकारी प्राप्त भएमा तत्काल प्रहरीमा उजुरी दिन आग्रह गर्दै कानुन कार्यान्वयनमा प्रहरी प्रतिबद्ध रहेको बताए।

सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले स्थानीय तहले समावेशी समाज निर्माणका लागि विभिन्न नीति तथा कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले जातीय विभेद अन्त्यका लागि स्थानीय सरकारबाट सचेतना, सीप विकास, शिक्षा, क्षमता अभिवृद्धि तथा समान अवसर सुनिश्चित गर्ने नीतिहरूलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सुरज बराल, पूर्व अध्यक्ष जयलाल बिक, संरक्षक खिमबहादुर बिक, पूर्व महासचिव माया रसाइली, सैनामैना सुनचाँदी व्यवसायी संघका अध्यक्ष निर्मल कालिराज, राष्ट्रिय स्वतन्त्र पार्टी सैनामैना नगर अध्यक्ष लक्ष्मण पौडेल, नेपाली कांग्रेस नगर सचिव अर्जुन पौडेल, संस्थाका संस्थापक सचिव सुरेन्द्र परियार लगायतले जातीय विभेद सामाजिक विकासको प्रमुख बाधक भएको उल्लेख गर्दै समानता, सम्मान र सामाजिक न्यायका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

वक्ताहरूले संविधानले सुनिश्चित गरेको समानताको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने, दलित समुदायको शिक्षा, रोजगारी, नेतृत्व विकास तथा आर्थिक सशक्तीकरणमा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रमका अध्यक्ष अनिल पहाडीले जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि केवल एक दिनको कार्यक्रमले मात्र पर्याप्त नहुने बताउँदै निरन्तर सचेतना, सामाजिक अभियान र कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। उनले सबै सरोकारवाला पक्षलाई समानता र सामाजिक सद्भाव कायम गर्न आ–आफ्नो स्थानबाट योगदान गर्न आग्रह गरे।

कार्यक्रममा दलित समुदायको मौलिक संस्कृति झल्काउने पञ्चेबाजा प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो। नगरका विभिन्न वडाबाट प्रतिनिधिमूलक रूपमा दलित समुदाय, जनप्रतिनिधि, सामाजिक अभियन्ता, व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

समितिका उपाध्यक्ष जुद्ध बिकले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन महासचिव कमला विश्वकर्माले गरेकी थिइन्।

कार्यक्रमका वक्ताहरूले कानुनको प्रभावकारी कार्यान्वयनसँगै समाजमा चेतना, शिक्षा, सहिष्णुता र मानवताको भावना विकास गर्न सके मात्र जातीय विभेदमुक्त समाज निर्माण सम्भव हुने निष्कर्ष व्यक्त गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation