नक्कली नोट र नोट छाप्ने मेसिन सहित ६ जना पक्राउ

बुटवल, रुपन्देही प्रहरीले नक्कली नेपाली नोट र नोट छाप्ने मेसिन सहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलको टोलीले गोप्य सूचनाका आधारमा गरेको अपरेसनको क्रममा एक जना भारतीय नागरिक र पाँच जना नेपाली सहित ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका वडा नंं ११ की ३६ वर्षीय गङ्गा कुमारी पुर्वछाने, कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं। १ का सञ्जय थारु, कास्कीको पोखरा महानगरपालिका वडा नं। १ का किरणकृष्ण तिवारी, दोलखाको सैलुङ गाउँपालिका वडा नंं ४ का ३८ वर्षीय पासाङ तामाङ, भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं। १ का ४२ वर्षीय रामचन्द्र खत्री र भारतको पश्चिम बंगाल सिलिगुडी निवासी ४१ वर्षीय वासु मित्र आनन्द रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले बताए।

उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका ६२२ थान नक्कली नेपाली नोट, नोट छाप्ने मेसिन, फोटोकपी मेसिन, ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने पेपर १ कार्टुन, लेमिलेसन मेसिन, नक्कली नोट बनाउन प्रयोग हुने केमिकल, प्लास्टिक पेपर, तयार भएका नक्कली नोट कटिङ गर्न प्रयोग हुने मेसिन र ६ थान मोबाइल बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए।

पक्राउ परेकाहरूलाई जिल्ला अदालत रुपन्देहीबाट मुद्रा सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक अनुपम शमशेर जबराले नक्कली नोट छाप्ने गिरोहले नेपाली युवाहरूलाई प्रयोग गर्दै आफ्नो सञ्जाल विस्तार गरेको खुलेको र घटनाका मुख्य योजनाकार भनिएका अर्का एक भारतीय नागरिकको खोजी भइरहेको बताए।

घटना विवरण अनुसार असार २६ गते गङ्गा कुमारी पुर्वछाने आफु संगै काम गर्ने अर्घाखाँचीको माला रानी गाउँपालिका वडा नं ९ स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं।४ ट्राफिक चोकमा बस्दै आएका प्रेम सावतलाई आफुलाई क्युआर मार्फत पैसा हालिदिन भन्दै नगद २ हजार १ सय रुपैयाँ दिएकी थिइन्।

सावतले उक्त रुपैयाँ लिएर बुटवलको नेपालगन्ज रोडस्थित कपडा पसलबाट कपडा खरिद गरी पैसा बुझाउने क्रममा पसल धनीले उक्त नोट नक्कली भएको पहिचान गरेका थिए। त्यसपछि सावतले आफूलाई झुक्यानमा पारी नक्कली नोट दिने गङ्गा कुमारी पुर्वछाने विरुद्ध प्रहरीमा उजुरी दिएका थिए।

त्यसपछि प्रहरीले पुर्वछानेलाई पक्राउ गरी उनको घर कोठा खानतलासी गर्दा १ हजार दरका १०३ थान नक्कली नेपाली नोट बरामद गरेको थियो। गङ्गा कुमारीसँग सोधपुछ गर्दा उक्त कार्यमा पोखराका किरण कृष्ण तिवारीको पनि संलग्नता रहेको बयान दिएकी थिइन्। गङ्गा कुमारीको बयानपछि जिल्ला प्रहरी कार्यालय कास्की सँग समन्वय गरी तिवारीलाई पक्राउ गरिएको थियो।

प्रहरीले तिवारीको घर कोठा खानतलासी गर्दा १ हजार दरका ४७८ थान नक्कली नेपाली नोट बरामद गरेको जनाएको छ। प्रहरीले गङ्गा कुमारी र किरण कृष्ण तिवारी हुँदै उक्त कार्यमा संलग्नहरू रामचन्द्र खत्री, कपिलवस्तुको बाणगंगाका वडा नं।२ बस्ने सञ्जय थारु, वासु मित्र आनन्द र पासाङ तामाङ समेतलाई पक्राउ गरेको हो।

रामचन्द्र खत्रीले बुटवल उप महानगरपालिका वडा नं। १३ जित गढीमा बाल कुमारी घर्ती मगरको घरमा २ वटा कोठा भाडामा लिएर नक्कली नोट छाप्ने र बजार पठाउने काम गर्दै आएका थिए। पक्राउ परेका सबैमाथि मुद्रा सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation