एमाले लुम्बिनी प्रदेश अधिवेशन स् नेतृत्वमा सहमतिको प्रयास जारी

१७ भदौ । रुपन्देहीको बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व चयनमा सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन् ।

राधाकृष्ण कँडेल र हरि रिजालले दुवैले नेतृत्वमा दाबी नछाडेपछि सहमतिको प्रयास भइरहेको हो । कँडेल उपाध्यक्ष विष्णु पौडेल पक्षका र रिजाल महासचिव शंकर पोखरेल पक्षका हुन् । कँडेल हालका अध्यक्षसमेत हुन् ।

 

एमालेका एक नेताले भने, ‘दुई जनाको नाममा सहमतिको प्रयास भइरहेको छ । हिजो रातभर प्रयास गर्दा पनि सफल भएन । फेरि पनि सहमतिको प्रयास जारी छ ।’

अधिवेशनको उदघाटन समारोहमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेललगायत सबैजसो नेताहरुले गुटबन्दीको विरोध गरे पनि आफू निकटका व्यक्तिलाई नेतृत्वमा पुर्‍याउन गुटगत प्रयास भने भइरहेका छन् । त्यसैले नेतृत्व चयनमा ढिलाइ भइरहेको छ ।

अधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व छिटो टुंगो लगाउन निर्देशन दिएका थिए । बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा पनि ओलीले पार्टीका उपाध्यक्ष, महासचिव, सचिवसहितका नेताहरु लुम्बिनी प्रदेशकै भएको भन्दै सहमतिमा नाम टुंग्याउन भनेका थिए ।

आइतबार बिहान काठमाडौं फर्किनुअघि बन्दसत्रलाई सम्बोधन गरेका ओलीले सबै अधिकार पार्टी सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याललाई भएको बताउँदै दृढतापूर्वक अघि बढ्न आग्रह गरेका थिए । अर्याललाई निर्देशन गर्दै ओलीले भने, ‘फैसला दिनुपर्यो भने दृढतापूर्वक दिनुस्, मनाउनुस् ।’

उनले प्रतिनिधिहरुलाई समेत इञ्चार्जको निर्देशन मान्नुपर्ने बताउँदै उनले चुनावमा जाने अन्तिम अधिकार भने कायम रहेको बताए । उनले इगो त्यागेर नेकपा एमाले एकताबद्ध र सुदृढ हुनुपर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation