लुम्बिनी अधिवेशन सम्पन्न गरेपछि एमाले सचिव अर्यालले भनिन् ः ‘गुट राजनीतिलाई अब क्षमा गरिने छैन’

बुटवल । नेकपा एमालेकी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टी भित्र गुट राजनीतिलाई क्षमा नहुने बताएकी छन् । लुम्बिनीमा पहिलो प्रदेश अधिवेशन सम्पन्न गरेपछि सचिव अर्यालले पार्टीभित्र स्थायी गुट निर्माण गरिए त्यसलाई क्षमा गर्न नसकिने बताइन । अधिवेशनको क्रममा दुई समूह बनाएर लागेका नव निर्वाचित अध्यक्ष राधाकृष्ण कंडेल र हरि रिजालको समूहलाई स्थायी गुट नराखी मिलेर अघि बढ्न निर्देशन गरेकी हुन् ।

 

एमाले लुम्बिनी प्रदेश कार्यालय बुटवलमा आयोजित सपथग्रहण तथा बधाई कार्यक्रममा बोल्दै अर्यालले भनिन् ‘अधिवेशनका समयमा हामीले जे टिम निर्माण गर्यौ, यो अधिवेशनमा बनाइएको टिम सदाको स्थायी गुट नबनोस । स्थायी गुट बन्यो भने क्षम्य हुँदैन, पार्टीले हेरेर बस्दैन ।’ अधिवेशनको समयमा पार्टी नेतृत्वलाई जोडेर जुन समूह निर्माण गरिएको भएपनि ती सबै कुराहरू अब भूत बन्नु पर्ने उल्लेख गरिन् । लुम्बिनी प्रदेश अधिवेशनमा प्रजातान्त्रिक र सहमतीय विधि प्रयोग गरिएको उनले बताइन । ‘अधिवेशनमा ठूलो संख्यामा निर्विरोध भयो, ठिक्कको मात्रामा निर्वाचन भयो ।’-अरयाललेभनिन्, ‘त्यसैले हामी दुबै विधिबाट आएका छौं, अधिवेशन सफल पारेका छौं ।’

अधिवेशन सफलतापूर्वक सम्पन्न भएको दाबी गर्दै अर्यालले चुनावमा निर्वाचित तथा पराजित नेता कार्यकर्ताहरुलाई निष्कृय नहुन, कुण्ठा नबोक्न र जिम्मेवारी पूर्वक काम गर्न निर्देशन गरिन् । निर्वाचनको परिणामसँग जोडेर अन्टार-सन्टा हुनेगरी पार्टिलाई घाटा पर्ने गतिविधि नगर्न उनले कडा निर्देशन दिईन् ।

एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनलाई विभिन्न क्षेत्रले गम्भिरतापूर्वक नियालीरहेको बताउँदै उनले सम्पन्न भएसँगै सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गरिन् । अन्य प्रदेशहरुमा समेत अधिवेशनको तयारी बीच लुम्बिनीले सकारात्मक सन्देश दिन सफल भएको उनले बताइन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation