२० भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा खुकुरी प्रहार भएको छ ।
भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको छ ।
यादवलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नुवाकोटको विदुर नगरपालिका टुप्चे घर भई बालाजुको पैंयुटार बस्ने ४७ वर्षका श्यामबहादुर सापकोटालाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।
पक्राउ परेका सापकोटाले रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा अघिल्लो लहरमा नै बसेर यादवको भाषण सुनेका थिए ।
कार्यक्रममा महेन्द्र यादवको भाषण सुन्दै गरेका श्याम (भादगाउँले टोपीमा) ।
कार्यक्रम सकिएपछि यादवलाई पछ्याउँदै आएर उनले खुकुरी हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।
पक्राउ परेका सापकोटले आफूलाई अभियन्ता भन्ने गरेका छन् ।
रिपोर्टर्स क्लबको कार्यक्रममा यादवले सुन तस्करी, भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरणमा सरकारले चालेको कदमको विरोधमा धारणा राखेका थिए ।
खुकुरी प्रहारबाट घाइते भएलगत्तै यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ । जहाँ उनको उपचार भइरहेको छ ।