संसदमा उठ्यो प्रश्नः उपचार नपाएर अस्पतालमै बालिकाको मृत्यु हुने अवस्था किन आयो ?

२१ भदौ, काठमाडौं । कान्ति बाल अस्पतालमा उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारसँग जवाफ मागेका छन् ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले के कारणले बालिकाले उपचार नपाएर मृत्यु भएको हो भन्नेबारे सरकारसँग जवाफ मागे ।

 

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर थापाले उपचार नपाएर मृत्यु हुनुपर्ने अवस्था किन आयो भनी प्रश्न गरे ।

यस सम्बन्धमा अस्पतालको व्यवस्थापनबारे पनि सोधपुछ गर्नुपर्ने उनको माग छ ।

उपचारका लागि लगिएकी बालिका रेजिशा गोपालीको निधन भएको थियो । खर्च नभएको कारण देखाएर बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको आफन्तले बताएका छन् ।

यस्तो अवस्था कसरी आयो भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक महेश बर्तौलाले पनि सरकारमाथि प्रश्न गरे । यस घटनाका सम्बन्धमा स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद चन्दा कार्कीले पनि उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था लज्जास्पद रहेको बताइन् ।

रास्वपाकी सांसद सुमना श्रेष्ठले नेपालले अवलम्बन गर्दै आएको र अभ्यासमा रहेको सिस्टमको असफलताको कारण कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको बताइन् । सरकारले ध्यान नदिनु नै ठूलो गल्ति भएको उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation