
बुटवल कार्तिक १। बेलहिया बुटवल ६ लेन सडकको किनारमा लगाईएका रुखहरु काट्नेबाट रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जरिवाना असुल गरेको छ।
गलत अफवाह फैलाउंदै ६ लेन सडकको दायावाया र बुद्ध परिपथमा लगाईएका छतिवन एस्टोनियाका रुखहरु काट्न थालेपछि नगरपालिकाले रुखहरु काट्नेको पहिचान गरि जरिवाना असुल गर्न थालेको हो।
केहि दिन पहिले ६ लेन सडक र बुद्ध परिपथमा लगाईएका एस्टोनियाका रुखहरु काटिएपछि नगरपालिकाले रुख काट्नेहरुको खोजि गरेको थियो।
रुख काट्नेहरुको पहिचान खुलेपछि जनही ५ हजारका दरले हालसम्म ९ जनाबाट ४५ हजार रुपैया जरिवाना लिईएको नगरपालिकाले जनाएको छ।
पहिलोपटकलाई भन्दै जनही ५ हजार रुपैया लिएर सजग बनाएर छोडिएको नगर कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिए। तर कसलाई जरिवाना गरिएको हो भन्ने नगरपालिकाले खुलाएको छैन्।
६ लेन सडक निर्माणसंगै सडक किनारमा लगाईएका एस्टोनियाका बोटहरुका बारे नकारात्मक हल्ला फैलाईएपछि सडक किनारका कतिपय स्थानीयले यसअघि पनि हुर्किसकेका बोटहरु काट्ने गरेका थिए।
नगरपालिकाका वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका श्री ले एस्टोनियाको बारेमा नचाहिने अफवाह फैलाईएको र त्यसका पछाडी नलाग्न आग्रह गरे।
नगरपालिकाले पांचवर्ष पहिले नै सुन्दर र हरियाली तिलोत्तमा बनाउने अभियान संगै सडक किनारमा रुख रोप्ने र सरसफाई अभियान संचालन गरेको थियो। नगरवाशीको अग्रसरतामा ५ बर्ष पहिले लगाएर हुर्किसकेका बोट काटेर नगरपालिकाको अभियानलाई नै विफल पार्न खोज्नेहरुलाई कारवाही गरिएको उनले बताए।
नगरपालिकाको वातावरण शाखाका अधिकृत गोरखनाथ खनालले बोटविरुवा मास्न खोज्नेहरुलाई कानुन अनुसार कारवाही गरिने बताए। पहिलो पटकलाई जनही ५ हजारका दरले जरिवाना गरिएपनि फेरीपनि यस्तो कार्य दोहोराए थप जरिवाना गरिने उनले बताए।
सडक किनारमा लगाईएका एस्टोनियाको पात तथा बोक्राले गर्भवती महिला र पशुचौपायाको गर्भपतन गराउने, यसको हावाले समेत मानिसको स्वास्थ्यमा प्रतिकुल असर पु¥याउने गलत हल्ला फैलाएपछि नगरपालिकाले यसको परिक्षण समेत गरेको जनाएको छ।
नगरपालिकाका उपप्रमुख जगेश्वरीदेवी चौधरीले एस्टोनियाको बारेमा गलत हल्ला फैलाईएपछि विज्ञहरुसंग परिक्षण गरिएको र यसबाट मानिस वा पशुपंक्षी कसैको पनि स्वास्थ्यलाई हानी नपुग्ने पुष्टि भएको बताईन्।