राष्ट्रसंघका महासचिव गुटरेस लुम्बिनीमा

बुटवल, कार्तिक १४ । नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस गौतमबुद्ध जन्मस्थल लुम्बिनी आईपुगेका छन्।

आज बिहान अन्नपुर्ण बेसक्याम्प पुगेका गुटरेस बिशेष बिमानबाट गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल हुँदै लुम्विनी आईपुगेका हुन्। महासचिव गुटरेस गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलबाट लुम्बिनी भने हेलिकप्टरबाट गएका थिए।
महासचिव गुटरेसको स्वागतको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज विहानै लुम्बिनी पुगेका थिए। महासचिव गुटरेस पोखराबाट सिधै लुम्विनी आएका थिए भने प्रधानमन्त्री प्रचण्ड काठमाण्डौबाट लुम्विनी आईपुगेका हुन्।

बुद्धजन्मस्थल लुम्बिनीको पहिलोपटक भ्रमणमा आएका महासचिव गुटरेसलाई प्रधानमन्त्री प्रचण्डसँगै संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्विनी बिकास कोषका उपाध्यक्ष डा। ल्यारक्याला लामा लगायतले स्वागत गरेका छन्।

महासचिव गुटरेस साढे १० बजेसम्म लुम्बिनीमा औपचारिक कार्यक्रममा रहने लुम्बिनी विकासकोषले जनाएको छ। हेलिकप्टरमार्फत लुम्बिनीस्थित अन्तरास्ट्रिय सम्मेलनकेन्द्रमा अवतरण गरेका गुटरेस शान्तिदिप हुँदै मायादेवी मन्दिरको दर्शन र प्रार्थना गर्नेछन्। महासचिव गुटरेस शान्तिदीपबाट मायादेवी मन्दिरसम्म भने पैदलै जाने कार्यक्रम बनाईएको छ। सो क्रममा स्थानीय आमा समूह, लुम्बिनीस्थित विभिन्न भिक्षु भिक्षुणीले स्थानीय कला संस्कृति सहित स्वागत गर्ने छन्। गुटरेसले लुम्बिनीको अवलोकनपछि पत्रकारहरुमार्फत शान्तिभूमीबाट शान्तिको सन्देश सहितको सम्वोधन गर्ने कार्यक्रम रहेको लुम्विनी बिकास कोषले जनाएको छ।

करिब १५ वर्षपछि भएको राष्ट्रसंघका महासचिवको लुम्बिनी भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। यसअघि सन् २००८ नोभेम्बरमा बान की मुनले संयुक्त राष्ट्रसंघको महासचिवको रुपमा लुम्बिनीको भ्रमण गरेका थिए। गुटरेस राष्ट्रसंघको महासचिवको रुपमा लुम्बिनी भ्रमणमा आउने छैटौं महासचिव हुन्। सन् १९५५ ड्याग ह्यामसोल्ड महासचिव भएको बेला नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको थियो। ड्यागले सन् १९५९ मा लुम्बिनी भ्रमण गरेको कोषले जनाएको छ।

यद्यपि महासचिवका रुपमा भने भ्रमण भएको थिएन। तर, पनि ड्यागलाई राष्ट्रसंघको महासचिवका रुपमा लुम्बिनी भ्रमण गर्ने पहिलो व्यक्ति मानिन्छ। त्यस्तै सन् १९६७ अप्रिलमा ऊ थान्त, सन् १९८१ फेबु्रअरीमा कर्ट वाल्डहिम, सन् १९८९ मार्चमा ह्याभियर पेरिज द कोयरले लुम्बिनीको भ्रमण गरेका थिए।

संयुक्त राष्ट्रसंघका महासचिवका रुपमा ऊ थान्तको लुम्बिनी भ्रमणलाई सबैभन्दा महत्वपूर्ण रुपमा लिइन्छ। ऊ थान्तले सन् १९६७ अप्रिलमा लुम्बिनी भ्रमण गरेपछि उनकै पहलमा लुम्बिनीको विकासका लागि एउटा अन्तर्राष्ट्रिय समिति गठन भएको थियो। ऊ थान्तले नै लुम्बिनीको विकासका लागि गुरुयोजना बनाएर सोहि अनुसार अघि बढ्न नेपाल सरकार समक्ष प्रस्ताव गरेपछि जापनिज वास्तुविद् प्राध्यापक केन्जियो टांगेले सन् १९७८ मा लुम्बिनी गुरुयोजना बनाउनुभएको थियो। तर सरकारले ४५ वर्षसम्म पनि लुम्बिनी गुरुयोजनाको काम पुरा गर्न सकेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation