पाल्पाको भूतखोलामा डुबेर रुपन्देहीका २२ वर्षीय युवाको मृत्यु

बुटवल । पाल्पाको भुतखोलामा घुम्न गएका रुपन्देहीका २२ वर्षीय युवकको डुबेर मृत्यु भएको छ। मंगलबार बिहान तिनाउ गाउँपालिका(३ भुतखोलामा डुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ९ का विमल आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए।

आचार्य भैरहवाकै साथी युना दाहालसँग पाल्पामा घुम्न गएका थिए। भुतखोलामा उनीहरू दुबै जना पुगेको प्रहरीले जनाएको छ।
डिएसपी श्रेष्ठका अनुसार आचार्य र दाहाल दुबै जनाको उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउँदा चिकित्सकले आचार्यलाई मृत घोषणा गरेको थियो। दाहालको बुटवल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। बुटवलदेखि ६ किलोमिटर दुरीमा रहेको भुतखोलामा घुम्न जाने कैयौं युवाहरूको हरेक वर्ष डुबेर मृत्यु हुने गरेको छ। गएको वर्ष मात्रै तिनाउ गाउँपालिका वडा नं ३ तिनाउ खोलास्थित विद्युतको ड्यामसाइड र भुतखोलामा १० जना युवाहरूको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी तथ्यांक छ। मृत्यु हुनेहरूमा ४ जना किशोर रहेका छन्। त्यस्तै ४ जना भारतीय नागरिक रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation