पाल्पाको तिनाउमा रहेको दोभान माविले मनायो हीरक महोत्सव

पाल्पाको तिनाउ गाउँपालिका–२ मा अवस्थित दोभान माध्यमिक विद्यालयले विहिबार आफ्नो हीरक महोत्सव मनाएको छ । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्राविधिक एवम् व्यवसायिक शिक्षाले नै समाजको परिवर्तन सम्भव रहेको बताएका छन् ।

उनले निमुखा तथा गरिव जनताका छोराछोरीलाई जनमुखी शिक्षा नभएसम्म वैदेशिक रोजगार र विदेशी सेना, प्रहरीमा भर्ति हुने अवस्थाबाट पार लगाउन नसकिने बताए । वैज्ञानिक शिक्षाले समाज परिवर्तनमा सहयोग गर्ने उनले बताए । यसैगरी लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले हीरक महोत्सवका अवसरमा सम्मानित शिक्षक, विद्यार्थी र अभिभावकलाई धन्यवाज्ञापन गर्दै शिक्षामा आफ्नो प्रदेशले सक्दो सहयोग गर्ने बताए ।

संघीय सांसद ठाकुर गैरेले तिनाउमा रहेका सबै विद्यालयका प्रअ, समितिका अध्यक्षहरु, शैक्षिक व्यक्तित्वहरुका साथै राजनीतिक पार्टीका नेताहरुका बीच तिनाउको शैक्षिक सरोकार विषयमा मन्थन कार्यक्रम गरि शैक्षिक मार्गदर्शन आवश्यक रहेको बताए । महोत्सवमा तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा, सामुदायिक वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

यसैगरी स्थानीय अगुवा तथा समाजसेवीहरु रुपकुमार क्षेत्री, अमर प्रधान, हुकुम जीसी, चोपलाल गिरि, महेन्द्र सुवेदी, टंक बस्याल तथा कृष्ण पाण्डेय लगायतले विद्यालयको उन्नति र प्रगतिका लागि शुभकामना व्यक्त गरे । महोत्सवमा विभिन्न राष्ट्रिय कलाकारहरुले साँस्कृतिक प्रस्तुती दिएका थिए । विद्यालयका प्रधानाध्यापक सूर्य पौडेलले विद्यालयको प्रगति प्रतिवेदन पेश गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता र  शिक्षक गोपाल केसी र सन्तोष शेरचनले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation