भुसिया कुकुर न्यूनीकरणका लागि सैनामैनामा थालियो बन्ध्याकरण

सैनामैना, २२ मंसिर । सडकमा छाडा कुकुरहरुको संख्या बढ्दै गएपछि सैनामैना मा बन्ध्याकरण गर्न थालिएको छ ।
सडकमा रहेका छाडा कुकुरका कारण नागरिकहरुले समस्या भोगिरहनुपरेको एवं पछिल्लो समय सडकमा कुकुरको संख्या बढ्दै गएपछि दुर्घटनाको जोखिम समेत बढेकाले बन्ध्याकरण गरी न्यूनीकरण गर्न सैनामैना मा शुक्रबार देखि सोमबार सम्म शिविर सञ्चालन गर्ने सैनामैना नगरपालिका पशु शाखाले जनाएको छ ।

केन्द्रीय रिफरल पशु चिकित्सालय काठमाण्डौँ एवं सैनामैना नगरपालिकाको संयुक्त पहलमा सडकमा छाडा छोडिएका कुकुर तथा घरपालुवा कुकुरलाई समेत बन्ध्याकरणमा समावेश गरिएको छ ।
कुकुरकै टोकाईबाट कयौँ घाइते भएर बुटवल, काठमाण्डौँसम्म उपचार गर्न जानुपर्ने समस्या पनि देखिने गरेको छ । त्यसकारण बन्ध्याकरण शिविरमा रेबिज विरुद्धको खोप पनि लगाइएको जनाएको छ ।

बुधबार मात्रै ७९ वटा छाडा तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण गरिएको छ । बरिष्ठ पशु चिकित्सक डा।शर्मिला चापागाँई, डा.टंक प्रशाई, डा.अर्जुन अर्याल, श्री लोकराज भुसाल, डा.बिकास गिरी, डा.सुदिप रेग्मी लगायत विज्ञ टोलीले शिविरमा सहजिकरण गरेको छ ।
सैनामैनामा शिविर सञ्चालन गर्दा पाँच सय कुकुरको बन्ध्याकरण गर्ने योजना बनाइएको सैनामैना नगर प्रमुख फणिन्द्र शर्माले बताउनुभयो । शर्माले भने, ‘एउटा कुकुरले वर्षमा दुई पटक मात्रै ब्यायो भने पनि एउटाले ६ वटा पाउछ, यस्ता कयौँ कुकुर सडकमा छन्, त्यसैले कुकुरको न्यूनीकरण भएपछि रेबिज रोग पनि घट्ने भएकाले यो अभियान सुरु भएको हो ।’
यस्तै कार्यक्रममा सैनामैनाका उप प्रमुख बिना राना, प्रमुख प्रशासकिय अधिकृत जनक थापा लगायतले बोल्दै सैनामैनामा यो कार्यक्रम निकै प्रभावकारी हुने र अब रेबिज रोग सैनामैनामा न्युनिकरण हुने विश्वास व्यक्त गर्नु भएको थियो ।
सैनामैनामा बन्ध्याकरण शिविर सञ्चालन गर्नका लागी केन्द्रीय रिफरल अस्पताल काठमाण्डौँ एवं सैनामैना नगरपालिकाको ३ लाख रुपैँया बिनियोजन गरेका हुन् ।

आफ्नो कुकुरलाई बन्ध्याकरण गराउन सैनामैना नगरपालिका–१ बनकट्टाबाट आएका भोलानाथ रिजालले बन्ध्याकरण शिविर राखेर राम्रो काम गरेको बताए । धेरै कुकुर पाल्न नसकिने र रेबिज विरुद्धको ईन्जेक्सन लगाउने भएकोले आफुले कुकुर लिएर आएको रिजालले बताए ।

यसबाट कुकुरको संख्या नियन्त्रण हुने र टोकी हाले पनि रेबिज लाग्ने खतरा नरहने भएकोले शिविर महत्वपूर्ण भएको बताए ।
सैनामैनाका विभिन्न ठाउँहरुमा कुकुरले मानिस तथा पशु चौपायालाई समेत टोकेर घाइते बनाएका घटनाहरु पनि समय समयमा आउने गरेका छन् । आर्थिक वर्ष २०७९÷८० मा मात्र पर्रोहा स्वास्थ्य चौकिमा १२०० बिरामी रेबिज विरुद्धको खोप लगाउन आएको तथ्याङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation